एमाले विधान महाधिवेशनः पाँच समूहले सुझाव दिने, आजै अन्त्य हुँदै
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट सुरु भएको प्रथम विधान महाधिवेशनमा पाँच वटा समूहले सुझाव प्रस्तुत गर्दैछन् । आज पहिलो चरणमा प्रदेश नम्बर १, २, गण्डकीसहित पाँच वटा समूहले सुझाव प्रस्तुत गर्ने कार्यतालिका छ ।
महाधिवेशनमा शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । ती प्रतिवेदनहरुमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय र विभाग, सात वटा प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासको समेत प्रतिनिधित्व रहेको १० वटा समूह बनाइएको थियो ।
शनिबार पहिलो चरणमा प्रतिवेदनमाथि छलफल र दोस्रो चरणमा ती दस्तावेजहरुमाथि उठेका सुझाव समेटेर ५ वटा समूह नेताहरुले प्रस्तुति गर्नुभएको थियो ।
समूहगत सुझावपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमा उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।
प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज नै ढिला गरी भए पनि महाधिवेशन अन्त्य हुने बताउनुभयो ।