बिर्तामोड ६ को विजयी शुरुवात
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भइरहेको तेस्रो वडास्तरीय फुटबल प्रतियोगितामा वडा नं ६ ले सानदार शुरुवात गरेको छ ।
बिर्तामोड– १० स्थित महेन्द्र ज्योति माबिको मैदानमा सोमबार भएको उद्घाटन खेलमा वडा नं ६ ले वडा नं ८ लाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गरेको हो ।

टिमलाई बिजयी गराउन वडा नम्बर ६ का तर्फबाट रोमन भुजेलले ५ गोल गर्दै म्याच अफ द म्यान घोषित भए । यस्तै सिद्धार्थ अधिकारी र सन्देश बस्नेतले १-१ गोल गर्दै टिमलाई बिजयी गराएका थिए ।
नगर खेलकुद विकास समितिका अध्यक्ष टीका संग्रौलाको अध्यक्षता रहेको कार्यक्रममा नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं १ का वडाध्यक्ष अग्नी पाण्डे , वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरुङले शुभकामना मन्तब्य राखेका थिए । मंगलबारको खेल वडा नम्बर १ र ४ बीच हुने भएको छ । कार्यक्रमको संचालन समितिका उपाध्यक्ष केशव भण्डारीले गरेका थिए ।