बैशाख २८, २०८२ आईतबार

नेपाल पहिलो पटक साफको फाइनलमा

काठमाडौं । नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

यससँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन ।

अब नेपालले फाइनलमा भारत र माल्दिभ्स मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेश भने बाहिरिएको छ। 

लिगको अन्तिम खेलमा आजै भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल पुग्न माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको बिकल्प छैन । मालेस्थित राष्ट्रिय रंगशालामा भएको रोमान्चक खेलमा एक गोलको अग्रता उल्टाउदै नेपालले बराबरी खेलेको हो  ।

खेलको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान जमल भुयानको फ्रिकिकमा हेड मार्फत उनले उत्कृष्ट गोल गरेका थिए।

तर, खेलको ८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई हारबाट जोगाए। मोहमद साद उद्दीनले अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे ।

त्यसअघि खेलको ७९ औं मिनेटमा गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो । पेनाल्टी बक्स क्षेत्रभन्दा बाहिर आएर बल क्लियर गर्ने क्रममा ह्याण्ड गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए ।

बंगलादेशसँगको बराबरीसँगै नेपालले ४ खेलमा ७ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा यथावत रहेको छ । बंगलादेश ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यस्तै माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो र भारत ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : आश्विन २७, २०७८ बुधबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]