इलाममा राष्ट्रिय जनगणना–२०७८ बारे सचेतना
इलाम । इलाम–सन्दकपुर गाउँपालिकाको माईपोखरीमा नेपाल शेर्पा संघले राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको छ। सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राईको प्रमुख आतिथ्यता तथा शेर्पा संघका केन्द्रीय उपमहासचिव फुर्बा तेन्जिङ शेर्पाको विशेष आतिथ्यतामा जनगणना सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राईले शेर्पाहरु अवसरको खोजीमा गाउँ छाडेर जाने क्रम बढेकाले दिनानु दिन गाउँहरु रित्तिदै गएको बताए । उनले सन्दकपुरमा शेर्पा जातिको जनसंख्या बढीमा चार सय मात्र रहेको जानकारी दिए ।
केन्द्रीय उपमहासचिव फुर्बातेन्जिङ शेर्पाले कार्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुने मूल गणनामा सबैले नाम तथा थरको महलमा शेर्पा कोड नं ३४, मातृ भाषामा शेर्पा कोड नं १९ र दोस्रो भाषामा भोट र धर्ममा बौद्ध कोड नं २ लेखाउनु पर्ने जानकारी गराए । शेर्पाले २०५८ बाट २०६८ मा आईपुग्दा शेर्पाहरुको जनसंख्या उल्लेखीय रुपमा घटेको भन्दै १०–१० बर्षमा हुने राष्ट्रिय जनगणनालाई महत्व दिनु पर्ने बताए ।
विशेष अतिथि आदिवासी जनजाति महासंघ सन्दकपुरका अध्यक्ष रुपेन्द्रराज नेम्वाङले जनसंख्याको यकिन तथ्याङ्क संकलनमा सबै आदिवासी जनजातिहरुले जनगणनामा सक्रिय सहभागिता रहनु पर्नेमा जोड दिए । कार्यक्रमका सभापति तथा शेर्पा संघ इलामका अध्यक्ष दानु शेर्पाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यसमिति सदस्य निमल्हमु शेर्पाले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । उक्त सचेतना कार्यक्रमको सहजीकरण सहसचिव रिन्जी शेर्पाले गरेका थिए ।