जेष्ठ ३, २०८२ शुक्रबार

पाँचथर अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो, तीनको सनाखत

पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

दुर्घटनामा घाइते भई उपचारका लागि अस्पताल ल्याइएका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा घाइते भएका मोरङको लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनकै सात महिने छोरा निश्चल देवानको समर्पित अस्पताल फिदिममा उपचारका क्रममा अहिले मृत्यु भएको हो ।

समर्पित अस्पतालमै मृत्यु भएका एक महिलाको पहिचान हुन नसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनामा थप ६१ जना घाइते छन् । घाइतेमध्ये हालसम्म ११ जनालाई थप उपचारका लागि तराईका सुविधासम्पन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुलाई समेत उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको सो कार्यालयले जनाएको छ ।

फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि हिँडेक को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा आज दुर्घटनामा परेको हो । सजिलो बाटोमा अर्को सवारीलाई उछिन्ने क्रममा बस सडकबाट करीब २० मिटर तल सडकमै झरेको थियो । दुर्घटनाका मृतक तथा घाइते कुम्मायक गाउँपालिकाको यासोकबाट ट्याक्सीमा निवुखोलासम्म आएका थिए । पुल भत्केकाले पैदल यात्रा गरी पुल तरेर उनीहरु बसमा चढेका थिए । तर बस केही किलोमिटर पार नगर्दै दुर्घटना भएको थियो ।

प्रकाशित मिति : कार्तिक ८, २०७८ सोमबार  ४ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]