गुणस्तरीय कालोपत्रे नगरेपछि नगरपालिकाले भत्कायो कृषिथोक जाने सडक
बिर्तामोड । बिर्तामोडको शनिश्चरे रोड देखि बुधबारे हटिया जाने सडकमा गरिएको रिपेयरिङ्ग कालोपत्रे मापदण्ड अनुसार नभएको भन्दै बिर्तामोड नगरपालिकाले भत्काएको छ ।
बिहीबार विहान नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालसहितको टोलीले ग्रेडर लगाएर भत्काएको हो । उपभोक्ता समिति मार्फत निर्माण गरिएको करीब ५० मिटर सडकमा गुणस्तरीय काम नभएपछि भत्काइएको छ । गत असोज २३ गते कालोपत्रे गरिएको यो सडक गुणस्तरीय नभएपछि जोत्न बाध्य भएको नगरप्रमुख शिवाकोटीले बताए । उनले यस नगरपालिका भित्र सडक, पुल, ढल, भवन आदि निर्माणको काम गुणस्तरहिन भेटिएमा यही प्रकारको कार्वाही गर्ने चेतावनी समेत दिए ।
नगरप्रमुख शिवाकोटले विकास निर्माणका काम गर्दा स्तरीय गर्न सम्बन्धित सबैमा आग्रह पनि गरेका छन् । यस्तै बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले सडक निर्माणको काम गुणस्तरीय नभएका कारण जनगुनासोहरु आएपछि भत्काएको जानकारी दिए । उनले अनुगमनकाक्रममा क्वानटीटी र क्वालिटी दुवै नपाएकोले पुन निर्माणको लागि ग्रेडर लगाएर भत्काएको बताए ।
बिर्तामोड नगरपालिका ५ मा पर्ने यो सडकसंगै अदुवा खोला नजिकै बिर्तामोड १ र ५को सिमाना, एभरेष्ट बैङ्क उत्तर कनकाई रोडसम्म, हिकोला रोड, अग्रशेन देखि सुव्वा चोकसम्म, हिमालय धर्मकाटा रोड, बिर्तामोड वसपार्क छिर्ने सडक हुँदै अर्जुनधारा ११ को सिमानासम्म र इलाका प्रहरी कार्यालय अनारमनी हुँदै कञ्चनजंघा रोड रिपेयरीङ्गका लागि सडक बोर्डबाट ३५ लाख रुपैयाँ छुट्टीएको वडानम्बर ५का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जानकारी दिए ।
सडकको कालो पत्रे ४ इन्च सम्मको हुनु पर्नेमा कम भएका कारण गुणस्तरीय बन्न नसकेको सडक उपभोक्ता समितिका अध्यक्ष अम्बिका लिङ्देनले स्वीकार गरे । उनले यो भत्काइएको सडक मौसमको प्रतिकुलतालाई ख्याल गरेर तिहार पछाडि मात्रै निर्माण गरिने बताए । उपभोक्ता समितिका अध्यक्ष लिङ्देन बिर्तामोड ५ का रिपेयरीङ् कालोपत्रे गर्ने सबै सडकको उपभोक्ता समितिको अध्यक्ष हुन् ।