झापाको ५ पालिकामा एमालेको नयाँ नेतृत्व, बाँकीमा सहमति प्रयास जारी
बिर्तामोड । झापाका १५ पालिकामध्ये ५ पालिकामा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । कमल, गौरीगञ्ज र दमकमा सर्वसम्मत भएको छ भने अर्जुनधारा र भद्रपुरमा निर्वाचन प्रक्रियाबाट नेतृत्व छानिएको छ । बाँकी १० वटा पालिकामध्ये केहिमा सहमति प्रयास जारी छ भने धेरै जसो पालिकामा निर्वाचन हुने देखिएको छ । दमकमा उपाध्यक्ष बाहेक सबै पद्मा सर्वसम्मत भइसकेको छ ।
अर्जुनधारा गोम्देन निर्वाचित
नेकपा एमाले अर्जुनधाराको अध्यक्षमा बलदेव गोम्देन निर्वाचित भएका छन् । नगरको अध्यक्षमा गोम्देन र लोकनाथ गौतम बिच निर्वाचन भएको थियो । उनीहरु दुवै जना अर्जुनधारा नगरपालिकाका वडाध्यक्ष समेत हुन् । शुक्रवार साँझ सार्वजनिक मत परिणाम अनुसार गोम्देनले ११७ र गौतमले १०२ मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा लोकमान श्रेष्ठ, उपसचिवमा सरता भण्डारी र जनक चौलागाई निर्वाचित भएका छन् । पदाधिकारीमा सचिव मात्रै सर्वसम्मत भएको थियो । सचिवमा लवकुश गौतम सर्वसम्मत भए । ७० जना सदस्य समेत सर्वसम्मत भइसकेका छन् ।
गौरीगञ्जमा सर्वसम्मत
नेकपा एमाले गौरीगञ्जले गोविन्द कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । ९ गते उद्घाटन भएको प्रथम अधिवेशनपछि नयाँ नेतृत्वका लागि कसरत भएको थियो । निर्वाचन गर्न नदिने नेतृत्वको जोडपछि सर्वसम्मत कमिटी बनेको हो ।
यस्तै उपाध्यक्षमा रामकृष्ण पन्त, सचिव सर्वण गिरी, उपसचिवमा राजकुमार राजवंशी र कृष्ण महतो सर्वसम्मत भएका छन् । तीन दिनको छलफलले सर्वसम्मतबाट ७५ सदस्यीय पालिका कमिटी बनेको छ ।
बिर्तामोडमा पनि १५ गतेसम्म उम्मेद्वारी फिर्ता लिन समय दिइएको छ । सर्वसम्मत नहुने अवस्था आएमा १६ गते निर्वाचन हुने बताइएको छ । यस्तै, हल्दिवारीमा उपाध्यक्षमा सहमति जुटिरहेको छेन । बाँकी पद्हरुमा सहमति भएको बुझिएको छ । बुद्धशान्तिमा सहमतिका लागि अन्तिम प्रयास भइरहेको बताइएको छ । मेचीनगरमा निर्वाचन मण्डललाई अध्यक्ष मण्डलले सहमति गराउने भन्दै समय मागेको थियो । सोही अनुसार सहमतिको प्रयास जारी राखिएको छ ।