बिर्तामोडमा नारायण गोपाल स्मृति साँझको तयारी
बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाले स्वरसम्राट नारायण गोपाल स्मृति दिवसको सन्दर्भ पारेर नारायण गोपाल स्मृति साँझको तयारी गरेको छ ।
साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियार तथा साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ तथा संरक्षिका उर्मिला विमली श्रेष्ठको विशेष उपस्थितिमा बसेको बैठकले नारायण गोपाल स्मृति साँझको तयारी गरेको हो । स्वरसम्राट नारायण गोपाल स्मृति दिवसको सन्दर्भ पारेर मंसीर १८ गते बेलुकी ५ बजेदेखि ८ बजेसम्म नारायण गोपाल स्मृति साँझको आयोजना गरिएको साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए । नारायण गोपाल स्मृति साँझमा प्रसिद्ध गायक कुबेर राईको एकल गायनको कार्यक्रम राखिएको बताउँदै उनले सोही कार्यक्रममा अग्रज श्रष्टा शान्ती ठटाललाई विशिष्ठ सम्मान गरिने जानकारी दिए ।
होटल हिकोला हेरिटेज प्रा.लि. विर्तामोडको प्रायोजनमा हुने नारायण गोपाल स्मृति साँझको प्रमुख अतिथि अग्रज श्रष्टा शान्ती ठटाल र साहित्य चौतारी विर्तामोड झापाका मानार्थ सल्लाहकार वरिष्ठ गायक तथा संगीतकार जीवन अधिकारीको विशिष्ठ आतिथ्यता रहने छ ।
त्यसैगरी अर्जुनधारा जलेश्वरधाममा भइरहेको ३९ औं धार्मिक अनुष्ठानमा साहित्य चौतारी बिर्तामोड झापाको तर्फबाट मंसीर १६ गते भजन सन्ध्याको कार्यक्रम गरिने र भजन सन्ध्या कार्यक्रमको प्रमुख अतिथि साहित्य चौतारी विर्तामोड झापाका मानार्थ सल्लाहकार वरिष्ठ गायक तथा संगीतकार जीवन अधिकारी रहने उनले जानकारी दिए ।