जेष्ठ ७, २०८२ मंगलबार

सिरिजङ्घामा निःशुल्क माटो परीक्षण

ताप्लेजुङ – माटो परीक्षणका लागि गाउँबाहिर पठाउनुपर्ने कृषकको बाध्यता अब भने हट्ने भएको छ । अबदेखि स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । यसका लागि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ ।

आफ्नै लगानीमा प्रयोगशाला स्थापना गरे माटो परीक्षणको व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार भूगोल र हावापानी सुहाउँदोखेती प्रणाली अवलम्बन गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित निःशुल्क माटो परीक्षणको व्यवस्था मिलाइएको छ । गाउँपालिका क्षेत्रभित्रका सबै किसानले निःशुल्क माटो परीक्षण गर्न पाउने गरी नवौँ गाउँसभाद्वारा नीतिगत निर्णयसमेत गरेको थियो ।

माटो परीक्षणका लागि गाउँपालिकाअन्तर्गत रहेका सिनाम नमूना माध्यमिक विद्यालयस्थित प्रयोगशालामा जान सकिन्छ । उक्त प्रयोगशालामा निःशुल्क माटो परीक्षणको व्यवस्थापनका लागि चालू आर्थिक वर्षमा रु तीन लाख ५० हजार अनुदान दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक महिनाको पहिलो र चौंथो शनिबारका दिन किसानले माटो परीक्षण गर्न सक्नेछन् ।

गाउँपालिकाभित्र कृषि उत्पादन वृद्धि गरी सर्वसाधरणलाई आत्मनिर्भर बनाउन र उनीहरुको आयआर्जनमासमेत वृद्धि गर्न निःशुल्क माटो परीक्षणको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताउनुभयो । प्रयोगशालामा माटोमा अम्लियपन, क्षारीयपन, इसी, सूक्ष्म खाद्यतत्व, मुख्य खाद्यतत्व, प्रोटेबललगायतको डिजिटल नतिजा देखाउने र प्रिन्ट गरेर किसानलाई दिन पनि मिल्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार  ४ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]