झापाका कांग्रेस नेता थापाद्वारा प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा
झापा – नेपाली कांग्रेस प्रदेश १ को सभापति पदमा झापाका उद्धव थापाले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस झापाको दुई कार्यकाल सभापति बनेका थापा नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । सिटौलाले उनलाई प्रदेश सभापतिको उम्मेदवारका रूपमा अघि सारेका हुन् ।
पार्टीको संस्थापन पक्ष र सिटौला समूह मिलेर जाने तयारीमा लागेपछि प्रदेश १ मा सिटौला पक्षले सभापति दाबी गरेको छ । सटौला पक्षबाट झापाका थापा र संखुवासभाका तारामान गुरूङ प्रदेश सभापतिका दाबेदार छन् । थापाले भने बुधबार उम्मेदवारी घोषणा गरेका छन् । देउवा पक्षबाट अमृत अर्याल प्रदेश सभापतिको दौडमा छन् ।
२०४६ सालमा पञ्चायती व्यवस्था विरुद्वको आन्दोलनमा लागेका थापा प्रजातन्त्रको पुर्नस्थापना पश्चात नेपाली काँग्रेस अर्जुनधारा गाउँसमितिको सचिव्सभापतिको एक्एक कार्यकाल जिम्मेवारी सम्हालिसकेका छन् । त्यसपछि झापा २ नं क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थापाले दुई पटक संसद्को टिकट पाए । हरेक चुनावमा नेपाली काँगे्रसको भारी मत बढाउन सफल रहेपनि जितको परिणाम भने हातपर्न सकेन ।