दिलमाया स्मृति कप उद्घाटन गर्न नेम्वाङ झापा आउने
बिर्तामोड । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका नवनिर्वाचित उपाध्यक्ष सुवास नेम्वाङ झापा आउने भएका छन् । नेम्वाङ उपाध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक शुक्रवार झापा आउने भएका हुन् ।

झापा क्षेत्र नं. ४ का सांसद् एलपी साँबा लिम्बुको माता दिलमाया साँवाको स्मृतिमा हुन गइरहेको झापा जिल्ला क्षेत्र नम्बर ४ स्तरीय फुटबल प्रतियोगिताको दोस्रो चरणको सुपर आठ फुटबल प्रतियोगिता उद्घाटनका लागि नेम्वाङ झापा आउने भएका हुन् ।
उद्घाटन शुक्रवार १२ बजे झाँकी सहित दुधेको खेल मैदानमा हुने मुल आयोजक समितिका संयोजक सुनिल भेटवालले जानकारी दिए । उद्घाटन खेल शिवसताक्षी ११ र झापा गाउँपालिका ७ बिच हुने छ । यसअघि झापा क्षेत्र नम्बर ४ का २८ वडाबाट उत्कृष्ट ८ टिमको छनौट गरिएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख २५ हजार र दोस्रो हुने टिमले १ लाख २५ हजार रुपैँया पाउने भेट्वालले जानकारी दिए ।