जेष्ठ ७, २०८२ मंगलबार

दक्षिण अफ्रिका र हङकङसहित नौं देशबाट नेपाल आउन राेक

काठमाडौं । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौं देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने भएको छ ।
मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

उनीहरुलाई (बिहीबार) राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको छ । हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । हालसम्म २४ देशमा यो नयाँ भेरियन्ट फेला परिसकेको छ ।

ती देशमा कोरोना भाइरसको नयाँ ‘ओमिक्रोन’ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो । संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा नदिने निर्णय भएको एक मन्त्रीले बताए ।

नयाँ भेरियन्टको जोखिम बढिरहेको भन्दै संक्रमणको पहिचान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोजिटिभ देखिएका यात्रुहरु मध्ये यात्राको विवरण भएका व्यक्तिहरुको नमुना संकलन गरी जीन सिक्वेन्सिङको लागि आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

नयाँ भेरियन्ट संक्रमणको जोखिम भएका मुलुकहरुमा अति आवश्यक बाहेक यात्रा नगर्न पनि सरकारले यात्रा सुझाव जारी गर्ने निर्णय गरेको छ । ती मुलुकमा जाने सरकारी कर्मचारी वा प्रतिनिधिमण्डलले पनि सरकारको स्वीकृति लिएर मात्रै जान पाउने छन् । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दैनिक २ लाख जनालाई खोप लगाउने अनिवार्य व्यवस्था मिलाउन भनिएको छ ।

प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार  ६ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]