स्थानीय तहले अपांगमैत्री सडक निर्माण गर्न ध्यान नदिएको गुनासो
बिर्तामोड । झापामा अपांगमैत्री सडक संरचना नभएको दृष्टिविहीनका अगुवाहरुले गुनासो गरेका छन् । जिल्लाभरका सडकमा आवतजावत गर्न कठिन हुने गरेको नेत्रहिन संघ झापामा सचिव भोजकुमार तामाङले बताए । उनले स्थानीय तहहरुलाई अपांगमैत्री सडक निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।
जिल्लामा नेत्रहिन संघमा १२० जना दृष्टिविहीन आवद्ध रहेका छन् । पूर्ण र अल्प दृष्टि भएका सबै व्यक्तिहरु संघमा आवद्ध रहेको उनको भनाई छ । जिल्लामा सबैभन्दा धेरै गौरीगञ्ज गाउँपालिकामा १३ जना दृष्टिविहीन संघमा आवद्ध रहेको तामाङले जानकारी दिए । संघभन्दा बाहिर पनि दृष्टिविहीनहरु रहेको बताइएको छ ।
जिल्लाकै सबैभन्दा अप्ठ्यारो बिर्तामोड मुक्तिचोक क्षेत्रमा हिडडुल गर्न समस्या हुने उनीहरुको भनाई छ । दमकमा भन्दा विर्तामोडमा बाटो काट्न गाह्रो छ, तामाङले भने – बिर्तामोडमा आकाशे पुलको जरुरी भइसक्यो । सेतो लठ्ठीबाट हिड्न जान्नेहरुलाई (सक्षम) समस्या नभए पनि भखैरै सिक्नेहरुलाई ठुलो समस्या छ ।
झापामा संघले दृष्टिविहीनलाई गरिखाने बनाउन विभिन्न कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । तामाङका अनुसार कम्प्युटर शिक्षालाई अहिले प्राथमिकतामा राखिएको छ । सँगै संघको कार्यलय बिर्ताबजारमा त्रिशक्ती अगरबत्ती समेत उत्पादनको काम भइरहेको छ ।
संघका सचिव तामाङ कनकाई नगरपालिकास्थित जानकी आधारभुत विधालयमा कार्यरत छन् । उनका अनुसार जिल्लामा ९ जना स्थायी, ५ जना राहत र १ जना विशेष कोटाबाट शिक्षण पेशामा आवद्ध छन् । गैरसरकारी क्षेत्रमा समेत दृष्टिविहीनहरु काममा लाग्ने गरेको बताएका छन् ।
आज ३० औं अन्तराष्ट्रिय अपांगता दिवस । झापामा समेत सो अवसरमा विविध कार्य आयोजना गरिएको छ । अपांगताका सवालमा आवाज उठाउने गरि आज बिर्तामोडमा भव्य ¥यालीको आयोजना गरिएको छ । त्यसपछि नेत्रहिन संघको कार्यालयमा अन्य कार्यक्रम सम्पन्न गरिने तामाङ्ले जानकारी दिए ।