जेष्ठ ७, २०८२ मंगलबार

‘हामीलाई दया होइन, अवसर देऊ’

सडक आसपासका निर्माण हटाइदिन आग्रह
बिर्तामोड । झापामा अपांगता भएका व्यक्तिहरुले ३० औं अन्तराष्ट्रिय अपांगता दिवस मनाएका छन् । राज्यको सबै तहमा अपांगता भएका व्यक्तिहरुको समान सहभागिताको माग गर्दै अन्तराष्ट्रिय दिवस मनाइएको छ ।

बिर्तामोडस्थित मुक्ति चोकबाट नौमतिबाजा सहित ¥याली आयोजना गरिएको थियो । बिर्तामोड परिक्रमा गरेर सो ¥याली बिर्ताबजारसम्म पुगेको थियो । झापा नेत्रहिन संघले आयोजना गरेको ¥यालीमा जिल्लाभरबाट अपांगता भएका व्यक्तिहरुको सहभागिता थियो । बाजागाजा सहित आयोजना गरिएको र्यालीमा अपांगता अधिकारको नारा लगाइएको थियो । राज्यको सबै तहमा समान सहभागिता हुनुपर्ने, दयाको सट्टा अवसर प्रदान गर्नुपर्ने, शिक्षा, स्वास्थ्य र रोजगारमा विषेश अधिकार हुनुपर्ने, राजनीतिमा प्रतिनिधित्व गराउनुपर्ने लगायतका नारा लगाइएको थियो । बिर्ता बजार पुगेपछि सहभागीलाई एमाले नेता अफ्रोज खानले खाना खुवाएका थिए ।

र्याली पश्चात अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री हस्तान्तरण गरिएको छ । सेतो छडी ३८ थान हस्तान्तरण गरिएको छ । १० जना विधार्थी शैक्षिक सामग्री, ३० जनालाई बे्रल पेपर, स्टेट स्टाइलस, ३० जनालाई न्यानो कपडा, पौष्टिक आहार वितरण गरिएको संघका सचिव भोजकुमार तामाङले जानकारी दिए । उनका अनुसार विभिन्न दाताहरुको सहयोगमा सहायक सामग्री र अन्य सामग्री वितरण गरिएको हो ।

अपांगता भएका व्यक्तिहरुलाई अवसर प्रदान गर्न संघकी अध्यक्ष सिर्जना बरालले बताएकी छन् । उनले समाजमा अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिमा परिवर्तन आइरहेको बताउँदै रोजगारीको व्यवस्था मिलाउन अगुवाहरुलाई आग्रह गरिन् ।
कार्यक्रममा भेटिएका कमल गाउँपालिका–६ का दृष्टिबिहीवन जितेन्द्र बरालले बौद्धिक अपांगता भएका व्यक्तिलाई रोजगार दिनुपर्ने बताए । बौद्धिकलाई रोजगार र असक्षमलाई पेट पाल्न सक्ने गरि राज्यले सुविधा दिनुपर्ने उनको भनाई थियो । राज्यले दिइरहेको सुविधाले पेट पाल्न समस्या भएको भन्दै उनले अहिलेको महंगीमा ६४ सयले ४ महिना धान्न नसकिने गुनासो पाखे । आम्दानी नभएपछि परिवारले समेत हेर्ने दृष्टिमा परिवर्तन आउछ, बरालले भने – काम गरेर जीवन चलाउन नसक्नेहरुलाई राज्यले विशेष सुविधाको व्यवस्था गर्नुपर्छ । उनले सडकको आसपासमा निर्माण सामग्री नराख्न आग्रह समेत गरेका छन् । हिडडुलमा समस्या हुने भन्दै सबैमा उनले ढुङ्गा, बालुवा हटाउन भनेका छन् । बरालले नाला सुरक्षित गरिदिन समेत अनुरोध गरे । ३८ वर्षको उमेरमा दृष्टिविहीन भएका बराललाई जिन्दगी सपना जस्तो लाग्ने बताए ।

उपन्यासको पाडुलिपी तयार गरेर बसेका बुद्धशान्तिका भानुभक्त सिन्चेरी पूर्ण दृष्टिविहीन होइनन् । उनी सामान्य पहिचान गर्न सक्छन् । नाटक, उपन्याससहित रचनामा रुचि राख्ने भानुभक्त अपांगता भएका व्यक्तिहरुको रचनालाई बाहिर ल्याउन सरकारले सहयोग गर्नुपर्ने बताउँछन् । उनले धेरै रचना गरेर पनि प्रकाशन गर्न नसकेको जानकारी दिए । कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुलाई विभिन्न माध्यमबाट सहयोग गनुपर्ने उनको धारणा छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत दृष्टिविहीन विधार्थी पवित्रा तामाङले अध्ययनका लागि आवश्यक सामग्रीको सधैं अभाव हुने बताइन् । बिएड दोस्रो वर्षमा अध्ययनरत तामाङले नयाँ प्रविधिबाट सञ्चालन गरिने शिक्षण सिकाई आफुहरुका लागि समस्या हुने जानकारी दिइन् । कक्षाकोठामा साथीहरुको सहयोग लिएर निरन्तर अध्ययनलाई अघि बढाएको उनको भनाई । आगामी दिनमा शिक्षण पेशा गर्ने तामाङको योजना छ ।

प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]