विधार्थीलाई यातायातमा सहज बनाइदिन अनेरास्ववियुको माग
बिर्तामोड । अनेरास्ववियु बिर्तामोड नगर कमिटीले विधार्थीलाई सार्वजनिक यातायातमा आवतजावत गर्न अवरोध भएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ज्ञापन पत्र बुझाएको छ ।
अनेरास्ववियु बिर्तामोडका अनुसार बिहान कलेजसम्म जान र १० बजेपछि घर फर्किन विधार्थीलाई यातायातमा कार्यरत मजदुरले अवरोध पुर्याउदै आएका छन् । अनेरास्ववियुले झापा ट्राफिकका प्रहरी सहायक निरिक्षक याम बहादुर खड्कालाई ज्ञापन पत्र बुझाउदै तत्काल समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका छन् ।
मंसिर १२ गत बिर्तामोडस्थित देवि माविका एक विधार्थी चढेको बस तीब्र गतिको कारण विरिङ पुलमा दुर्घटना भएको थियो । सो दुर्घटनामा एक जना विधार्थीले ज्यान गुमाएका थिए । सो घटनालाई स्मरण गराउदै अनेरास्ववियुले यातायात सञ्चालनमा ट्राफिक नियमको पूर्णपालना गर्नुपर्ने माग राखेको छ । सार्वजनिक बसले कोटामा विधार्थी चढाउने र ४५ प्रतिशत छुट समेत नदिएको जानकारी गराउदै तत्काल विधार्थीले प्राप्त गर्ने भाडामा छुट सुविधा कार्यान्वयन गर्न झापा ट्राफिक मार्फत यातायात व्यवसायीलाई आग्रह गरिएको अनेरास्ववियु बिर्तामोडका अध्यक्ष सन्तोष तिम्सिनाले जानकारी दिए । अनेरास्ववियुका नेता रोशन लामाले हस्तान्तरण गरेको पत्र सरोज सत्यालले बाचन गरेका थिए । ज्ञापन पत्र बुझाउन विधार्थीहरु सहभागी भएका थिए ।