‘चोर आयो’ भने भन्दा नेता तर्सिए : अध्यक्ष लिङ्देन
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले नेता गाउँमा आउँदा जनताले ‘चोर आयो’ भन्छन् भन्ने आफ्नो अभिब्यक्तिबाट अन्य पार्टीका शीर्ष नेता तर्सिएको बताएका छन् ।
नेपाली काङग्रेसको १४ औं महाधिवेशनमा नवनिर्वाचित अध्यक्ष लिङदेनले नेता गाउँ आउँदा जनताले चोर आयो भन्न थालेको अभिब्यक्ति दिएका थिए । लगत्तै बोलेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले हामीलाई चोर नै भन्छन त ? भन्दै खण्डन गरेका थिए । अर्का पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त लिङदेनको अभिब्यक्तिलाई ‘भर्खरै ब्याएको बाच्छोले धेर फुर्ती लाउने’ भन्दै व्यङ्ग्य गरेका थिए ।
भृकुटी मण्डपको आफ्नो अभिब्यक्तिबाट राजनीतिक दलका नेता अतालिएको बताए । राप्रपामा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला झापा आएका लिङदेनले पहिले देशका ‘नेता सुध्रिनुपर्ने’ धारणा राखे । चोरको खुटा तान भन्दाखेरी नेताहरुले शुरुमै खुटा उचाल्न खोजेको प्रक्रिक्रिया दिए ।

आफु निर्वाचित भएपछि राप्रपा फुट्छ भन्ने कतिपयको अनुमान गलत भएको बताए । ‘राष्ट्रिय पार्टी बन्न सकेको छैन, तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको अवस्था छ, अध्यक्ष लिङदेनले भने–‘यस्तो अवस्थामा राप्रपा किन फुट्छ ?’ राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकढिक्का बनाउने उद्घोष उनले गरे । आफ्नो नेतृत्वमा रहेको राप्रपामा कसैलाई पनि भेदभाव नगर्ने घोषणा लिङदेनको थियो । ‘काङग्रेस कम्युनिष्ट मिलाउन सक्छु भने आफ्नै पार्टी मिलाउन नसकुला त ?– लिङदेनले भने ।’
लिङ्देनले राप्रपामा उपरखुट्टी लगाएर पद पाउने अवस्थाको अन्त्य गर्ने बताएका छन् । ‘गाउँ जानुस, पार्टीको काम गर्नुहोस, पार्टीले उचित मुल्यांकन गर्ने छ, लिङदेनले भने– ‘अब पार्टीमा आमुल परिवर्तन हुन्छ । काम गर्ने नेता कार्यकर्ता कोही पछाडी पर्दैनन् । म पक्षपात गर्दिन ।’
अर्काे एक प्रसंगमा लिङदेनले हिजोको जस्तो राजसंस्था र हिन्दुराज्यलाई गाली गरेर राजनीति गर्ने समय सकिएको बताए । राजसंस्था र हिन्दुराष्ट्रको जगमा देशमा स्थायी शान्ति स्थापना गर्ने दायित्व राप्रपामाथी भएको उनको भनाई थियो ।
राप्रपाका एक्ला सांसद लिङदेनले नेकपा एमालले अहिले संसदमा गरेको अवरोध गलत भएको बताए । ‘संसद अहिले बन्धक छ, सरकारको बिरोध र आलोचना गर्नुपर्ने थुप्रै कुरा छन, त्यतातिर ध्यान दिएको छैन, लिङदेनले भने–‘सरकारले पास गर्नुपर्ने कुरा लगातार पास गरिरहेको छ । यो बेतुकको बन्धक हो ।’