एमाले झापाको अधिवेशन : भूगोल र क्षेत्रलाई तोकियो सदस्य संख्या
सर्वसम्मत भए शनिवार नै नेतृत्व चयन
बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशन शुरु भएको छ । बिर्तामोडस्थित हिमाल सागर रिसोर्टमा एमाले झापाको अधिवेशन शुरु भएको हो । सो अधिवेशनलाई भर्चुअल माध्यमबाट केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

अध्यक्ष ओलीले छोटो शुभकामना मन्तव्य दिदैं आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरे । कार्यकर्तालाई उनले गठबन्धनले प्राप्त गरिरहेको परिणामबाट अचम्ममा नपर्न आग्रह गर्दै राष्ट्रिय सभासम्म गठबन्धनको अन्तिम किस्ता बाँकी रहेको जानकारी समेत दिए । राष्ट्रियसभा निर्वाचन पछिका कुनै पनि निर्वाचनमा गठबन्धनले परिणाम प्राप्त गर्न नसक्ने बताए । उनले भने, जनताको मतलाई दुरुपयोग गर्ने काम गठबन्धनबाट भइरहेको छ ।
पुस २३ र २४ गते सञ्चालन हुने जिल्ला अधिवेशनको पहिलो दिन उद्घाटन शत्र सम्पन्न गरेर बन्द शत्र शुरु गरिएको छ । बन्दशत्रमा अध्यक्ष चिन्तन पाठकले राजनीतिक तथा संगाठनिक प्रतिवेदन र कार्यलय सचिव शिव ढुङ्गेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । दुवै प्रतिवेदनमाथि ७ समूह निर्माण गरेर छलफल सम्पन्न गरिएको छ । सो समूहका ७ संयोजकहरुले शनिवार १० बजेदेखि शुरु हुने बन्दशत्रमा छलफलको निष्कर्ष सुनाउने कार्यरम रहेको छ । प्रतिवेदन पारित गरेपछि निर्वाचन प्रक्रिया शुरु हुने बताइएको छ ।
निर्वाचन प्रक्रिया प्रारभ्म भएपछि उम्मेद्वारी दर्ता लगायतका काम हुने कार्यलय सचिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सर्वसम्मत भएमा शनिवार नै नेतृत्व चयन हुने छ ।
यस्तै, बन्दशत्रले संगठनात्मक संरचना पारित गरेको छ । पारित गरिएको संरचना अनुसार १५० सदस्यीय जिल्ला कमिटी बन्ने छ । कचनकवल, गौरीगञ्ज,कमल, बुद्धशान्ति,हल्दिवारी, बाह्रदशी, झापा, कनकाई, र भद्रपुरले ३÷३ जना सदस्य पाउने भएका छन् । त्यसमा १ महिला अनिवार्य गरिएको छ । शिवसताक्षी, दमक,बिर्तामोड,अर्जुनधारा, मेचीनगर र गौरादहले ४÷४ जना सदस्य पाउने छन् । त्यसमा २ जना महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ का दरले ५ जना र प्रदेश सभा निर्वाचन क्षेत्र २ जनाका दरले २० सदस्य पाउने छ ।

यस्तै, दलित समुदायको प्रतिनिधि हुने गरि महिला पुरुष ७ जना, आदिवासी जनजाति ९, श्रमिक ५, मधेशी २, सिमान्तकृत ३, मुस्लिम १, व्यवसायी २, युवा विधार्थी खेलकुद्बाट २ पेशगत २, सञ्चारकर्मी, अपांग, सुकुम्बासी, सांस्कृतिकर्मी , गैसस, सहकारी क्षेत्रलाई १÷१ जना सदस्य दिइनेछ । कानुन व्यवसायी, चिकित्सक, इञ्जिनियर र प्राध्यापकबाट जम्मा २ जना सदस्य बनाइने बन्दशत्रले पारित गरेको छ ।