बिर्तामोडका हात्ती पीडित भन्छन् ‘अब त हामीलाई बाँच्न पनि गाह्रो भइसक्यो’
धर्मेन्द्र मामा
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ का बासिन्दा अहिले हात्तीको प्रकोपबाट पीडित बनेका छन् । दैनिक जसो हुलका हुल आउने जंगली हात्तीका कारण गाउँलेहरु विगत दश दिनदेखि सुत्न पाएका छैनन् । दिनभर स्थानीय निचाझोडा जंगलमा बस्ने ती जंगली हात्तीहरु साँझ परेपछि गाउँ तीर प्रवेश गर्न थाल्छन् र गाउँमा आतंक मच्चाइरहेका छन् ।
आहाराको खोजीमा निस्कने ती जंगली हात्तीहरुको संख्या अहिले सात वटा छ । कहिले झुण्डमा त कहिले छुट्टाछुट्टै भएर विभिन्न टोलहरुमा प्रवेश गरी स्थानीयको घरबाट खाद्यान्नहरु खाने, नष्ट गर्ने गरेका छन् । राती १० बजेपछि घरमा बत्ती बालेर कति बेला हात्ती आउने हो भनेर रुंग्नु पर्छ । हात्ती गाऊँमा प्रबेश गर्न साथ गाउँलेहरु थाल बटुका भाँडाकुँडा नाङ्लो ठटाएर धपाउने प्रयास गर्दै आएका छन् ।

स–साना बालबालिकाहरुलाई हात्तीको आक्रमणबाट जोगाउन साथै उनीहरुमा पर्ने मनोवैज्ञानिक त्रासले गाऊँ नै अहिले त्रसित बन्न थालेको छ । हात्तीको त्रासबाट विगत तीन दिनदेखि डरले बिरामी नै परेका आफ्ना छोरालाई देखाउँदै स्थानीय मीलडाँडाकी सीतापौडेलले भनिन्,– ‘बेलुका भएपछि साना नानीहरू रुन कराउन थाल्छन् । म आफु पनि रातभरि सुत्न नपाएका कारण बिरामी परी सके ।’
अहिले गाउँलेहरुले आफ्नो घर वरिपरि तारबार गरी कपडा र प्लाष्टिक झुन्ड्याएर हात्तीलाई छेक्ने प्रयास गरेका छन् । तर हाती जथाभावी पस्ने र घरमा भएको खाद्यान्न खाने, घर नै भत्काउने काम रोकिएको छैन ।
विशेष गरी बिर्तामोड वडा नम्बर ७ बिरान , खालवारी मिलडाँडा हुँदै वडा नम्बर ८ को हर्चना, मेथीबारीसम्मका नागरिकहरु अहिले दैनिकजसो हात्तीको समस्याबाट पीडित छन् । एक हप्ताको अवधिमा स्थानीयहरुको धेरै बालीनाली नोक्सान गर्नुका साथै घर ,भान्साघर र ग्वालीहरु समेत ध्वस्त पारिदिएको छ ।
हात्तीको बद्मासीबाट बच्न स्थानीयहरुले स्थानीय गोलधापमा रहेको सशस्त्र प्रहरी बललाई खबर गर्ने गरेको र उनीहरुले साइरन बजाए पनि हात्तीले नटेर्ने गरेको स्थानीयको भनाइ छ । लक्ष्मी निमावि नजिकै रहेकी कृष्णमाया लिम्बुले दुखेसो पोख्दै भनिन्, अब त हामीलाई बाँच्न पनि गार्हो भइसक्यो, आफु बाँच्ने कि छोराछोरी बचाउने कि घर बचाउने भन्ने कुराले सधैं चिन्ता भइरहेको छ ।
जंगली हात्तीको आक्रमणबाट उक्त क्षेत्रका नागरिक विगत लामो समयदेखि पीडित बन्दै आएका छन् । कतिपयले त ज्यान नै गुमाइसकेका छन् भने कतिपयको घरहरु क्षतिग्रस्त भएका छन् ।