झापामा समातियो इलामबाट तस्करी गरेर ल्याएको मोटरका पार्टपुर्जा
बिर्तामोड । इलामबाट तस्करी गरेर ल्याउँदै गरेको मोटर पार्टस् झापामा समातिएको छ । भन्सार छलेर नेपाल भित्राइएको करिब १० लाख मूल्य बराबरको मोटरका पार्टपुर्जा झापा प्रहरीले बरामद गरेको हो ।
इलामको पशुपतिनगर नाका हुँदै नेपाल छिराइएको उक्त सामग्री बा ४ च ३०९ नम्बर कारलाई चेकजाँचका क्रममा फेला परेको थियो । विशेष सूचनाको आधारमा पार्टपुर्जा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका– १२ स्थित सहरेडाँगी चोकबाट सोमबार दिउँसो नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको कारलाई खोलेर चेकजाँच गर्दा कारभित्र विभिन्न गाडीहरूमा प्रयोग हुने मोटरका पार्टपुर्जा बरामद गरिएको प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । बरामद गरिएको पार्टपुर्जा नेपाली बजार मूल्य ९ लाख ९२ हजार ८६० रुपैयाँ रहेको प्रहरीको भनाई छ । सो सामान झापाका विभिन्न बजारमा विक्रीका लागि ल्याइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रवक्ता पाठकका अनुसार बरामद गरिएको सामान, कार तथा चालक सूर्योदय नगरपालिका–२ का मनोज खड्कालाई आवश्यक कारबाहीका लागि सोमबार नै मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ ।