जेष्ठ २८, २०८२ मंगलबार

खोपका लागि विद्यालय खुलाइने

बिर्तामोड । माघ १६ गतेदेखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिएका छन् । त्यो समयमा विद्यालयमा खोप अभियान नै चलाइने छ ।

त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड सङ्क्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्नेछ ।

त्यस्तै बैठकले हवाईजहाजमा यात्रा गर्नेलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गर्न भनिएको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य राख्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ ।

त्यस्तै बैठकले राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भनिएको छ । विदेशबाट नेपाल भित्रने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने र खोप नलगाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपालमा रहेका विदेशी नागरिकलाई पनि खोप लगाउने व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ ।

प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]