सरकार जनताको रोग र भोकमा मुकदर्शक बन्यो : युवा संघ झापा
बिर्तामोड । राष्ट्रिय युवा संघ झापाले सरकारले नागरिकप्रति अभिभावकत्व ग्रहण गर्न नसकेको आरोप लगाएको छ । एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट आक्रान्त भएको मुलुकलाई सरकारले अभिभावकीय भूमिका ननिभाएको जनाएको छ ।
रोग र भोकबाट जनता मरिरहेको अवस्थामा सरकार मुकदर्शक भएको भन्दै राष्ट्रिय युवा संघ झापाले ध्यानाकर्षण भएको जनाएको छ । कोरोना महामारीमा सरकार भ्रष्टाचार र अनियमिततामा लागेको युवा संघ झापाका संयोजक सागर पोर्तेलले जानकारी दिए । उनले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि तत्काल फिर्ता गर्न आग्रह समेत गरेका छन् ।

विज्ञप्तिमा संवैधानिक व्यवस्था बमोजिम स्थानीय तहको निर्वाचन गर्न माग गरिएको छ । प्राप्त उपलब्धीलाई नै सिध्याउने खेलमा सरकार सक्रिय भएको बताउँदै युवा संघले निर्वाचनमा बहानाबाजी गरे कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।
हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्दै आम नागरिकलाई औषधि उपचारको उचित व्यवस्था मिलाउन युवा संघले जोड दिएको छ । सरकारका पछिल्ला गतिविधि विरुद्ध संघले विरोध प्रदर्शन गर्ने तयारी गरेको संयोजक पोर्तेलले जानकारी दिए ।