जेष्ठ २७, २०८२ सोमबार

गठबन्धन सरकार स्थानीय चुनाव सार्ने संविधानविरोधी षडयन्त्रमा लाग्यो, एमालेले प्रतिकार गर्छ : नेता खरेल

विर्तामोड । नेकपा एमाले स्थायी समिति सदस्य एवम् झापा इञ्चार्ज अग्नी खरेलले स्थानीय चुनाव सारेमा एमालेले नसहने चेतावनी दिएका छन् । विर्तामोडस्थित निजी निवासमा आज विहान पत्रकारहरुसँग भेटघाट कार्यक्रम गर्दै नेता खरेलले प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओबादी र नेकपा समाजबादी पार्टीको उक्साहटमा लागेर स्थानीय चुनाव सार्ने संविधानविरोधी षडयन्त्रमा सामेल भइरहेको बताए ।

‘स्थानीय तहको सरकारको अवधि पाँच वर्ष भनेर संविधानले नै तोकिदिएको छ,’ खरेलले भने–‘यसमा एकदिन अवधि थप्न मिल्दैन । अनि एकदिन पनि स्थानीय तहलाई जनप्रतिनिधिविहीन राख्न पनि मिल्दैन ।’

संविधानले स्थानीय तहको सरकारको अवधि भनेर पाँच वर्ष किटान गरिदिएको र अब बिगतमा जस्तो स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाएर कर्मचारीबाट चलाउने छुट संविधानले नदिएको उनको धारणा थियो । खरेलले नेकपा एमाले जुनसुकै चुनावका लागि पनि तयार भएको समेत बताए । ‘तर संविधान र कानून मिचेर कोही अघि बढ्छ भने एमालेले त्यसलाई सहँदैन’–उनले चेतावनीको भाषामा भने ।

वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न नमिल्ने एमालेको धारणा रहेको उनको भनाई थियो । चुनाव हार्ने डरले सत्ता गठबन्धनका साझेदार नेकपा माओबादी र नेकपा समाजबादीको उक्साहटमा चुनावै नगरी सत्ता लम्ब्याउने प्रतिगमनकारी जालझेल भइरहेको उनले बताए । अर्ली इलेक्सन वा तीन वटै तहको चुनाव एकैपटक गर्ने भन्ने कुरा पनि षडयन्त्रको तानाबुना भएको खरेलले बताए ।

प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार  १२ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]