प्राङ्गरिक उत्पादन गर्ने किसानलाई प्रमाणपत्र
बिर्तामोड । प्राङ्गरिक विधिबाट लगातार तीन वर्षदेखि तरकारी खेती गर्दै आएका किसानलाई कृषि ज्ञान केन्द्र झापाले प्रमाणपत्र दिने प्रारम्भिक तयारी गरेको छ ।
किसानलाई व्यवसायमा उत्साह थप्ने र अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रमाणपत्र दिने तयारी गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताए । उनले विगत तीन वर्षदेखि केन्द्रले समूह तथा सहकारीको माध्यमद्वारा अग्र्यानिक तरकारी खेती गर्ने किसानलाई कृषि औजार तथा मल बीउका लागि अनुदानसमेत प्रदान गर्दै आएको र प्रतिफलसमेत राम्रो पाएको बताएका छन् ।
उनीहरूलाई पहिलोपटक प्रमाण पत्र दिने तयारी गरेको बताउँदै उनले भने, जिल्लामा ठूला–ठूला प्राङ्गरिक तरकारी खेती गर्ने किसानको संख्या बढ्दैछ । उहाँहरूको सही पहिचान गरेर हामी प्रमाणपत्र वितरण गर्छौँ । जसका कारण किसानमा उत्साह र हौसला मिल्छ भन्ने हाम्रो अपेक्षा हो ।’ उनका अनुसार चालु आर्थिक वर्षभित्रैमा किसानलाई प्रमाणपत्र वितरण गरिनेछ ।