बैशाख २८, २०८२ आईतबार

कोभिड महामारीमा के होला झापा गोल्डकप ?

बिर्तामोड । कोरोना महामारी कै कारण दुई पटक रोकिएको झापा गोल्डकप यो वर्ष नरोक्ने गरि तयारी गरिएको छ । देशकै प्रतिष्ठित गोल्डकप दुई वर्षसम्म रोकिएपछि आयोजक संस्था कोरोना महामारीबाट सुरक्षित हुँदै प्रतियोगिता सञ्चालन गर्ने तयारीमा जुटेको छ ।

पहिलो र दोस्रो भेरियन्टको प्रभावले दुई पटक गोल्डकप हुन सकेको थिएन । तेस्रो पटकको मिति समेत तोकेपछि तेस्रो भेरियन्टले प्रभावित बनाइरहेको छ । आगामी फागुन २१ गतेदेखि आयोजना गर्न लागिएको झापा गोल्ड कपको आवश्यक प्रचारप्रसार समेत शुरु गरिएको छ ।
कोभिड महामारीको बेला झापा गोल्डकप के होला भन्ने धेरैको जिज्ञासा छ ।

सोही जिज्ञासाबारे झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेलले झापा गोल्डकप भव्य रुपमा सम्पन्न गर्ने बताएका छन् । उनले अहिले रारा गोल्डकप र राष्ट्रिय टिमले शनिवार मात्रै मैत्रीपूर्ण फुटवल समेत खेलेकोले झापा गोल्डकप पनि आवश्यक मापदण्ड पुरा गरेर सञ्चालन गर्ने उनको भनाई छ ।

विगतमा जस्तो भव्य नभए पनि गोल्डकप हुन्छ, पौडेलले भने – ‘फागुन २१ सम्म कोरोना संक्रमण घट्छ भन्ने विश्वास पनि लिएका छौं । यदि कोरोना संक्रमण घट्यो भने खेल भव्य भइहाल्छ ।’ दर्शकको उपस्थिति कमै भए पनि खेल खेलाउनु पर्ने पौडेलको तर्क छ । उनले पुरस्कार बाहेकका अन्य खर्च घटाएर भए पनि यो वर्षको गोल्डकप आयोजना गरेरै छोड्ने संकल्प लिएको बताए ।

झापा गोल्डकपमा ४०-४२ लाखसम्म टिकटबाट आम्दानी हुने गरेको थियो । यो वर्ष २० लाख उठे पनि सदस्य र दाताबाट सहयोग संकलन गरेर गोल्डकप सम्पन्न गर्ने आयोजकको तयारी रहेको पौडेलको भनाई छ ।

प्रकाशित मिति : माघ १६, २०७८ आईतबार  ११ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]