मगमग उधोगको आगो निभाउन १२ वटा दमकलको प्रयोग, सेना पनि खटाइयो
मेचीनगर । मगमग चाउचाउ उद्योगमा भइरहेको आगलागी निभाउन मेचीनगर नगरपालिका लगायत १२ वटा दमकल (बारुण यन्त्र) प्रयोग भइरहेको छ ।

आज विहान ४ बजेदेखि मेचीनगर वडा नं. १४ स्थित मनषा थाइफुड्स (मगमग चाउचाउ उद्योग)मा भीषण आगलागी भइरहेको छ । आगो निभाउन मेचीनगर नगरपालिकासहित झापा, इलाम, मोरङ र सुनसरीका १२ वटा दमकल प्रयोग भइरहेको हो । साढे आठ बजेको समयसम्ममा करीव ५० प्रतिशत आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, दमकल कर्मचारी, सर्वसाधारण लगायतले आगो निभाउन सहयोग पुर्याइरहेका छन् । आगलागीबाट मानवीय क्षति भएको छैन । चार वर्ष अघि एक अर्बको लगानीमा झापाली उद्यमीहरुले स्थापना गरेको सो उद्योग आगलागीबाट पुरै खरानी भएको छ ।
उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेसँग सम्पर्क गर्दा आगलागीमा केही पनि मालबस्तु जोगाउन नसकिएको जानकारी दिए ।
‘केही जोगाउन सकिएन, सबै खरानी भयो’–घिमिरेले भने ।