प्रज्वलाद्वारा अपाङ्गता भएका व्यक्तिलाई सामग्री वितरण
इन्द्रकुमार राई
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका – ८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाले नगरक्षेत्रभित्र अपांगता भएका व्यक्तिहरुलाई सामग्री वितरण गरेको छ । संस्थाले आफ्नो २० औं बार्षिक उत्सवको अवसर पारेर सो सामग्री वितरण गरेको हो ।
अर्जुनधारा जेसीजका अध्यक्ष भिमबहादुर कुँवरको प्रमुख आतिथ्यतामा नगरक्षेत्रभित्र अपांगता भएका विशाल राई, अम्विका घोर्साइँ, सूर्य बहादुर बस्नेत, जानुका तिम्सिना, अनिष सुवेदी ,सुष्मा राजवंशी ,अर्जुन समाल,मुन्नी कार्की , सन्तोष राजवंशी , स्नेहा कार्की , जसोदा सुनुवार र केबल बानियाँलाई सामग्री वितरण गरिएको थियो । संस्थाले प्रत्येक बर्ष फागुन २ गते स्थापना दिवसको अवसरमा नगरक्षेत्र भित्र अपाङगता भएका व्यक्तिहरुलाई सेवा पु¥याउँदै आवश्यक सामग्री सहित सम्मान गर्दै आएको व्यवस्थापक तुलसा कुँवरले जानकारी दिईन् । संस्थापक अध्यक्ष दिपेन्द्र काफ्लेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको थिए ।
सोही अवसरमा संस्थाको अपाङ्ग कोषलाई स्थानीय निर्मला रिमालले नगद ५ हजार, ठाकुर समालले ५ हजार १ सय ११ र कविता मगरले ३ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए । संस्थाका अध्यक्ष डिल्ली घोर्साइँको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि कुँवर, नमूना सामुदायिक वन उपभोक्ता समितिका भानु विष्ट , प्रज्वला संस्थाका सल्लाहकार पदमबहादुर मगर , उपाध्यक्ष रञ्जना कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैबीच अर्जुनधारा जेसीजले अपाङ्गता भएका व्यक्ति र अभिभावकसँग अन्तरक्रिया गरेको छ । प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारीले बार्षिकोत्सव कै अवसरमा १ दिने सहकारी शिक्षा तालिम दिएको छ । झापा जिल्ला सहकारी संघका पूर्व सचिव युवराज ढकालले सहकारी शिक्षा तालिमको सहजीकरण गरेका थिए ।