जेष्ठ १२, २०८२ आईतबार

बिर्तामोडको आठौं सभाबाट तीन वटा विधेयक पारित

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले तीन वटा विधेयक पारित गरेको छ । मंगलबार आयोजित आठौँ नगरसभामा पेश गरिएका विधेयकमाथि छलफल गरेर पारित गरेको हो ।

नगरको विधायन समिति संयोजक गिता घिमिरेले प्रस्तुत गरेकोे विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७८, कृषि पशुपंक्षी तथा मत्स्य विकास विधेयक २०७८ र बिर्तामोड नगर प्रहरी गठन तथा संचालन विधेयक २०७८ सर्वसम्मतिले पारित भएको हो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेश १ सांसद एकराज कार्कीको प्रमुख आतिथ्यतामा आयोजित नगरसभामा नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले चालु आर्थिक वर्ष २०७८-०७९को अर्धवार्षिक प्रगति विवरण पेश गरेकी थिइन् ।

नगर उपप्रमुख प्रसाईले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा वार्षिक जम्मा चालु खर्च ६४ करोड ३५ लाख १४ हजार रुपैयाँ प्रस्ताव गरिएकोमा हालसम्म २० करोड ६२ लाख ११ हजार ८ सय रुपैयाँ खर्च भएको र पूँजीगत खर्च ६२ करोड ६५ लाख ८ हजार ५ सय रुपैयाँ खर्च गर्ने प्रस्ताव गरिएकोमा १४ करोड ५ लाख १५ हजार २ सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । यसअवधिमा उपभोक्ता समिति मार्फत २०८, ठेक्का प्रक्रियाबाट १९, अमानतबाट ९० र संघ संस्थाबाट २० गरी जम्मा ३३७ वटा योजना सम्झौता भएको जनाइएको छ । सम्झौता भएका योजनाहरुमध्ये १८६ वटा सम्पन्न भएको र १५१ वटा कार्यान्वयनको चरणमा रहेको जनाइएको छ ।

सभाका प्रमुख अतिथि प्रदेश १ सांसद एकराज कार्कीले बिर्तामोड नगरपालिकामा यो पाँच वर्षको अवधिमा चौतर्फी विकास भएको बताएका छन् । उनले सडक,पुल,कल्र्भट,शिक्षा,स्वास्थ्य,कृषि,पशुपालन लगायतका सबै क्षेत्रमा उल्लेखनीय विकास भएको भन्दै नगरपालिकाको प्रशंसा गरे । उनले स्थानीय तहको निर्वाचन मिति नजिकिदै गएको अवस्थामा यसको मुल्याङ्कन जनताले गर्ने पनि धारणा राखेका छन् ।

यस्तै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बिर्तामोडमा धेरै रचनात्मक कार्यहरु गरिएको बताएका छन् । कर्मचारीका कारणले पनि जनप्रतिनिधिलाई काम गर्न सहज भएको भन्दै उनले यस अवधिमा बाख्रा साँटासाट, बंगुर साँटासाट,सचेतना शिक्षा,सडक,पुल निर्माण लगायतका क्षेत्रमा महत्वपुर्ण कामहरु गरेको बताए । विकासका कामहरुमा बिर्तामोड अग्रपंक्तिमा रहेको भन्दै उनले यस ५ वर्षको अवधिमा ५०६ वटा विपन्न आवास निर्माण गरेर परिवारलाई हस्तान्तरण गरेको जानकारी दिए । नगरको लक्ष्य ७०६ वटा रहेको र लक्ष्य प्राप्तिको लागि नगर अघि बढेको जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड –३ का वडाध्यक्ष भोजराज सिटौला, वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग लगायतले यस अवधिमा भए गरेका गतिविधिहरुको बारेमा धारणा राखेका थिए । नगरसभामामा नगरपालिकाका विषयगत शाखा प्रमुखहरुले आ–आफ्ना शाखाबाट चालु आर्थिक वर्षमा भएका विकासको प्रगति विवरण प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]