झापा कांग्रेसले तोक्यो १३१ प्रतिनिधि
विर्तामोड । नेपाली कांग्रेस झापाले स्थानीय तह निर्वाचनलाइ लक्षित गरेर झापाका १ सय ३१ वटा वडामा जिल्ला निर्वाचन प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा मंगलबार सम्पन्न कार्यसमिति एवं क्षेत्रीय सभापतिहरु सहभागी बैठकले झापाका १५ वटा पालिकाका १३१ वटै वडामा निर्वाचन प्रतिनिधि तय गरेको हो । ‘वडा बलियो भए कांग्रेस बलियो हुन्छ’ भन्ने मुल नीति अवलम्बन गर्दै जिल्ला, क्षेत्र, प्रदेश, गाउँ-नगर र वडा कार्यसमितिसँग समन्वय गरेर कार्य गर्न निर्देशन गर्दै सबै वडामा जिल्ला प्रतिनिधि खटाइएको सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

यसैगरी नेपाली कांग्रेसका भातृ संस्थाहरु नेपाल महिला संघ र तरुण दल एवं आवश्यकता अनुसार अन्य भातृ संस्थाको गाउँ÷नगर अधिवेशन एवं बुथकेन्द्रित समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको सचिव नवीन विमलीले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनका लागि पार्टीले उम्मेद्वार तय नगरिकन सामाजिक सञ्जालहरुमा उम्मेद्वारको रुपमा प्रचार–प्रसार नगर्न पनि नेपाली कांग्रेस झापाले सरोकारवाला सबैलाई आग्रह गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिले यसअघि नै उम्मेद्वार तय नगरेसम्म सामाजिक सञ्जालमा प्रचार–प्रसार नगर्न निर्देशन दिइसकेको अवस्थामा झापा जिल्ला कार्य समितिले पनि उक्त आग्रह गरेको हो ।
यसैगरी नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसद गोपालकुमार बस्नेतलाई बधाई ज्ञापन गर्दै गठनबन्दन दलका सबै मतदाता, जनप्रतिनिधि, चुनाव प्रचार–प्रसारमा खटिने सबै नेता÷कार्यकर्ताहरुमा बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
बैठकमा उपसभापतिहरु केशवराज पाण्डे, शेरबहादुर भटराई, पूर्व उपसभापति राम कट्टेल, क्षेत्रीय सभापतिहरु इन्द्रबहादुर बुढाथोकी, खगेन्द्र मैनाली, जयनारायण शाहले सम्बोधन गरेका थिए ।