जेष्ठ १२, २०८२ आईतबार

ताप्लेजुङका स्थानीय तहमा कर्मचारी अभाव

ताप्लेजुङ – ताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतबिहीन बनेका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा लामो समयदेखि स्थानीय तह प्रमुखविहीन अवस्थामा छन् । कुनै स्थानीय तह करिब ६ महिना अघिदेखि र कुनै केही सातायता प्रमुखविहीन बनेका हुन् । यहाँ स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र सरुवा भएको र सो ठाउँमा तत्काल पदपूर्ति नहुँदा प्रमुखविहीन बनेका हुन् ।

फक्ताङ्लुङ गाउँपालिका ६ महिनादेखि प्रमुखविहीन छ । यस्तै मिक्वाखोला गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय विहीन बनेको छ । मेरिङ्देन गाउँपालिका र सिदिङ्वा गाउँपालिका एक महिनादेखि प्रमुखविहीन छ । पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिका केही साता अघिदेखि प्रमुखविहीन छ ।

लामो समयदेखि कार्यालय प्रमुखविहीन हुँदा ति स्थानीय तहको काम प्रभावित भएको छ । कार्यालय प्रमुख नभएका स्थानीय तहमा कतिपय कर्मचारी र शिक्षकले समयमा पारिश्रमिक पाउन सकेका छैनन् भने महत्वपूर्ण काममा बाधा पुगेको छ । कार्यालय प्रमुखको पदपूर्ति कहिलेसम्म हुन्छ भन्नेबारे अन्योल छ ।

फुङ्लिङ नगरपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकामा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् । यस्तै ६ वडा रहेको गाउँपालिकामा वडा सचिव नभएपछि सिरिजङ्गा गाउँ कार्यपालिकाले सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवका रूपमा खटाउने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले लोकसेवा आयोगबाट स्थायी कर्मचारी सिफारिस भई नआउञ्जेलसम्मका लागि सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवका रूपमा खटाउने भएको हो ।

एकैपटक सरुवा गरिएपछि सिरिजङ्गा वडा सचिवविहीन बनेको हो । फक्ताङलुङ गाउँपालिकामा तीन वडामा मात्र सचिव रहेको गाउँपालिकाका सूचना अधिकारी ज्यप्रकाश रिजालले बताउनुभयो । अनमीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ । मिक्वाखोला गाउँपालिकामा अन्य कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार  ११ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]