गठबन्धन जोगाउने अन्तिम कसरत : १० बजे गठबन्धनको बैठक
काठमाडौं -एमसीसी संसदमा दर्ता गर्ने कि नगर्ने भन्ने विवाद पेचिलो बनेका बेला सत्ता गठबन्धनका नेताहरुको बैठक अहिले विहान १० बजे बस्ने भएको छ ।
बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबल गर्नेरनगर्ने विषयमा निर्णय हुनेछ । त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ । यसअघि, बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो । नेताहरू आफ्नो पूर्ववत् अडानबाट टसमस नभएपछि निष्कर्ष ननिस्किएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिनुभएको थियो । जवाफमा नेकपा (माओवादी केन्द्र ) का नेताहरूले पहिले संसद् विनाअवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए । संसद्को गतिरोध अन्त्य नभएसम्म एमसीसी टेबल हुन नसक्ने माओवादीको अडान छ ।
नेकपा (एकीकृत समाजवादी ) का नेताले भने शनिबारसम्म कुर्न आग्रह गरेका थिए । शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकले एमसीसीका विषयमा धारणा तय गर्ने बताइएको छ ।
सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल भए सरकार छाड्ने निर्णय गरिसकेको छ । बिहीबारको गठबन्धनको बैठक निष्कर्षविहीन बनेपछि देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट जानुभएको थियो ।