जेष्ठ १२, २०८२ आईतबार

झापाको भूमिगत गिरोह : पुजारीदेखि ठेकेदारसम्म संलग्न

बिर्तामोड । झापाका विभिन्न स्थानमा बम राखेर आतंकित बनाउने भूमिगत समूहलाई झापा प्रहरीले सार्वजनिक गरेको छ । बिहीवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय झापाले सो समूहका मुख्य योजनाकारसहित ९ जनालाई सार्वजनिक गरेको हो ।

उनीहरुले बिर्तामोड र दमकमा प्रेसर कुकर बम राखेर आतंक मच्चाएका थिए । भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपालका मुख्य योजनाकारसहित ९ जनालाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा अधिकांश विभिन्न अपराधमा सजाय पुरा गरेर कारागारमुक्त भएका र पक्राउ पुर्जी जारी गरिएका व्यक्तिहरु रहेका छन् । जेल बसेर आर्थिक भार परेपछि छिटो आम्दानी गर्ने सोचले भूमिगत अभियानमा संलग्न भएको हुन सक्ने प्रहरीको भनाई छ ।

मुख्य योजनाकार गौरादह नगरपालिका– २ का ३८ वर्षीय सुमनकुमार कार्की र वडा नम्बर ५ का ३३ वर्षीय प्रदीप थापा, कनकाई नगरपालिका–३ का ४१ वर्षीय भीष्म थापा, दमक नगरपालिका– ९ स्थित चिया दोकान चोकका ५० वर्षीय देवी बास्कोटा (गुरागाईँ), कोटी होमका पुजारी कनकाई नगरपालिका–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला छन् ।

यस्तै शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय सरुन लिम्बु भन्ने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी नगरपालिका– १० सित्तलपाटी घर भई मोरङ सुन्दरहरैचा– ६ बस्ने २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज गाउँपालिका–३ का ३२ वर्षीय आनन्द भन्ने अनन्तप्रसाद गिरी र ४५ वर्षीय विजयकुमार दास हलुवाई पक्राउ परेका छन् ।

प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले भूमिगत समूह गोरखा जनमुक्ति पार्टीको नामबाट आपराधिक गतिविधि गर्ने पक्राउ परेका व्यक्तिहरू नै जेलबाट छुटेपछि भूमिगत समूहको नाम परिवर्तन गरी सोही प्रकृतिको आपराधिक कार्य गर्दै आएको खुलेको बताए ।
प्रहरीले उनीहरूको साथबाट हिमाल सुरक्षा परिषद् नेपाल इन्चार्ज केन्द्रीय कमिटी, इन्चार्ज कोसी अञ्चल कमिटी, अध्यक्ष कोसी अञ्चल कमिटी, अध्यक्ष मेची अञ्चल कमिटी, इन्चार्ज मेची अञ्चल कमिटी, हस्ताक्षर मात्र भएको १० थान छापसहित आर्थिक सहयोग माग गरिएका लेटर प्याड बरामद गरिएको प्रहरीले जनाएको छ ।

झापा र मोरङका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

परिषद्ले माघ १३ गते दमक नगरपालिका–५ हरि ओम कोलोनीस्थित सियोन चर्चको दक्षिणतर्फको प्रवेशद्वारमा बारुद जस्तो देखिने धुलो (इआडि) शङ्कास्पद बस्तु र माघ ९ गते बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस स्ट्यान्डमा प्रेसर कुकर बम राखेर आतङ्क मच्चाएको थियो । बमसँगै राखिएको पर्चामा हिन्दु राष्ट्र स्थापना हुनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, एमसीसी सम्झौता खारेज हुनुपर्ने लगायतका माग उल्लेख गरिएको थियो ।

उनीहरुको ब्याकराउण्ड
प्रहरीका अनुसार मुख्य योजनाकार कार्की ठेक्कापट्टाको काम गर्दै आएका छन् । उनी वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा २०७५ बैशाखदेखि २०७७ फागुनसम्म २२ महिना झापा कारागारमा बसेर छुटेका र २०७८ साउन १९ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएका टोलीले गौरादह २ स्थित उनकै घरबाट ३० ग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरेको र लागू औषध मुद्दामा उनीविरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी समेत जारी भइसकेको छ ।

पछिल्लो समयमा उनी भारतमा बसी आर्थिक संकलन गरेर आपराधिक योजना बनाउने गर्दै आएको प्रहरीको दाबी छ । त्यस्तै पक्राउ परेका भीष्म थापा ट्युबेल गाड्ने काम गर्दै आएका थिए ।

योजनाकार कार्की र पुजारी सिटौलाले थापालाई मोटरसाइकल किनिदिने प्रलोभन देखाएर बिर्तामोडमा पर्चासहितको प्रेसर कुकर बम राख्न लगाएका थिए । उनले माघ ९ गते बिहान ३ बजे साइकल चढेर आएर बम राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गुरागाईँ हिमाल सुरक्षा परिषद्मा आवद्ध रही शंकास्पद वस्तु प्रेसर कुकर राख्ने योजनामा संलग्न रहेको पाइएको छ ।

उनले माघ ८ गते केर्खा चोकको एक पसलबाट ४ वटा प्रेसर कुकर खरिद गरी मुख्य गिरोहलाई उपलब्ध गराई विस्फोटन गतिविधिमा सहयोग गरेको साथै चन्दा असुल गर्ने कार्यमा समेत संलग्नता देखिएको छ । उनको घरबाट घटनामा प्रयोग भएको प्रेसर कुकरको कार्टुन, चन्दा माग गर्न प्रयोग भएको मोबाइल तथा समूहको गतिविधिमा शङ्कास्पद देखिएको चेकहरू समेत बरामद भएको छ ।

त्यसैगरी कोटी होमका पुजारी सिटौला ग्रेटर नेपालको माग राख्दै शङ्कास्पद बस्तु प्रेसर कुकर राखेको अभियोगमा कारागार बसेर छुटेका हुन् । उनी योजनाकार कार्कीसँग मिलेर हिन्दु राज्य र राजतन्त्र पुनः स्थापनाको माग राखेर कोटीहोमस्थित आफ्नो कुटीमा पटक–पटक छिमेकी भीष्म थापासँग छलफल गरेर थापालाई बम राख्ने कार्यमा लगाएका थिए ।

सामेखाम लागू औषध मुद्दामा ५ वर्ष जेल जीवन बिताइ छुटेका हुन् । उनी परिषद्को नामबाट झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट चन्दा उठाउने, मनमोहन दाहालबाट रकम लिई भारत विहार राज्यको अररिया जिल्लास्थित कलियागञ्जसम्म पुगेर त्यही बसेर पार्टीको गतिविधि सञ्चालन गर्न रकम उपलब्ध गराई सहयोग पु¥याउँदै आएका थिए ।

पक्राउ परेका दाहालले हिन्दु राज्य नेपाल र राजतन्त्र पुनर्स्थापनाको माग राखेर बिर्तामोड र दमकमा प्रेसर कुकर बम राख्ने योजना बनाई संलग्न गिरोहलाई रकम उपलब्ध गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी ग्रेटर नेपालको माग राखेर २०७६ बैशाख २८ गते माइधारस्थित कनकाई पुलमा शंकास्पद बस्तु प्रेसर कुकर राखेको अभियोगमा पक्राउ परी कारागार बसेर छुटेका व्यक्ति हुन् ।

त्यस्तै प्रदीप थापा र गिरी परिषद्को नामबाट विस्फोटक पदार्थ जस्तो देखिने शङ्कास्पद प्रेसर कुकर राख्ने योजना बनाउने र चन्दा माग्ने गर्दै आएका थिए । उनी विहारमा बसेर सीमा नाकाबाट गतिविधिमा संलग्न व्यक्तिहरूलाई मिलाउने भूमिकामा निर्वाह गर्दै आएका थिए ।
हलुवाई परिषद्को नाममा अन्य सक्रिय सदस्यहरूले संकलन गरेको पैसा आइएमइबाट संकलन विहार बस्दै आएका योजनाकारहरू सम्म पु¥याउने काम गर्दै आएका थिए ।

समाजको ध्यान तान्न उनीहरुले धार्मिक अस्त्र प्रयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । भारतमा सुरक्षित बस्ने र नेपालमा आतंक सिर्जना गरेर आर्थिक संकलन गर्ने मुख्य उद्देश्य देखिएको परिवारको भनाई छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]