अर्जुनधारामा जग्गादातालाई सम्मान
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले पाँच जना जग्गादातालाई सम्मान गरेको छ । अर्जुनधारा–३ नम्बर वडा कार्यालय, स्वास्थ्य चौकी र शहरी स्वास्थ्य खोप केन्द्रको भवन निर्माणका लागि निःशुल्क रुपमा जग्गा प्रदान गराउने पाँच जनालाई सोमवार सम्मान गरिएको हो ।
वडा कार्यालय भवन निर्माणाका लागि स्थानीय स्व. खड्गबिक्रम नेम्बाङले १० कठ्ठा जग्गा प्रदान गरेका थिए । उनका छोरा खगेन्द्रबिक्रम नेम्बाङलाई सम्मान गरिएको हो ।
त्यसैगरी स्वास्थ्य चौकी निर्माणका लागि दानेन्द्रबिक्रम नेम्बाङ र कमेन्द्र विक्रम नेम्बाङले १४ धुर, त्यस्तै स्व. शेरबहादुर जबेगु र महेन्द्र लुईटेल जवेगुले १४ धुर , स्व.भक्तबहादुर चौहान र प्रतकला चौहानले १४ धुर जग्गा प्रदान गरेका थिए । शहरी स्वास्थ्य खोप केन्द्र निर्माणका लागि सरस्वती राईले १३ घुर दिएकी थिइन् । यसैगरी कार्यक्रममा वडाको समग्र विकास बारे वडाध्यक्ष जीबकुमार भण्डारीले विवरण सार्वजनिक गरेका थिए ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य बृख प्रधानले सोमवार जग्गादातालाई सम्मान गरेका हुन् । कार्यक्रममा स्थानीय राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीसहित अन्य दलहरुले शुभकामना मन्तव्य राखेका थिए ।