एमाले अध्यक्ष ओली : गृह जिल्लाका मुख्य पाँच कार्यक्रममा सहभागी हुने
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापा ओर्लीना साथ सुखानी जाने भएका छन् । आजको पहिलो कार्यक्रम नै सुखानी रहेको झापा एमालेले जनाएको छ । अध्यक्ष ओली फागुन २१ को सन्दर्भ पारेर झापा आउन लागेका हुन् ।
सुखानी स्मृति दिवशको अवसरमा हरेक फागुन २१ मा झापा आउने ओली विभिन्न कार्यक्रममा सहभागी भएरै साँझ काठमाडौं फर्किने कार्यक्रम छ ।
एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेका अनुसार विहान ९.३० बजे अर्जुनधारा नगरपालिका स्थित सहिद सुखानी सहिद स्मारकमा गएर माल्यापर्ण गर्ने पहिलो कार्यक्रम छ ।
११.३० मा कमल गाउँपालिका वडा नं ६ खयरबारीमा रतुवा–मावा तटबन्धको शिलान्यास गर्ने कार्यक्रम छ । यसैगरी दिउसो दिनको १२.३० बजे बिर्तामोडको सिपी पार्टी प्यालेसमा आयोजना गरिएको प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस लगत्तै १.३० बजे बिर्तामोडको सिटी सेन्टरमा रहेको साई पार्टी प्यालेसमा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश १ को प्रथम अधिवेशनमा सम्बोधन गर्ने कार्यतालिका छ ।
यस्तै, अन्तिम कार्यक्रम झापा गोल्डपकको उद्घाटन रहेको छ । अध्यक्ष ओली पाँचौं झापा गोल्डकप उद्घाटनपछिको पहिलो खेल दर्शकसँगै बसेर हेर्ने र आजै साँझ काठमाडों फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।