मुख्य पदमा दलित समुदायको सहभागिता हुनुपर्ने माग
बिर्तामोड । आसन्न स्थानीय तहको निर्वाचनमा दलित समुदायको प्रभावकारी उपस्थिति हुनुपर्ने बिर्तामोडमा आयोजिक एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । उनीहरुले सहभागितासँगै जिम्मेवार जनप्रतिनिधि अहिलेको आवश्यकता रहेको औल्याएका छन् ।
झापाको बिर्तामोडमा दलित जागरण अभियान केन्द्रले आयोजना गरेको अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताले संविधानले व्यवस्था गरेको दलित महिला जनप्रतिनिधि बाहेक मुख्य पद्मा पनि दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ ।

अन्तराष्ट्रिय रंगभेद तथा जातीय उन्मुलन दिवस २१ मार्चको अवसरमा आयोजित झापाका राजनीतिक दलसँग स्थानीय निर्वाचनमा मुख्य पद्मा दलित समुदायको सहभागिता विषय अन्तरक्रियामा जिल्लाका अगुवा अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
दलित जागरण अभियानका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य विमला विकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की, नेपाली कांग्रेस झापाका सदस्य जलकुमार गुरुङ, माओवादीका अरुण श्रेष्ठ, मुक्ति समाजका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज गोपाल ल्वागुन, झापा जिल्ला अध्यक्ष भोला परियार, अर्जुनधाराका कार्यपालिका सदस्य रमेश त्रिखत्री, कनकाईको कार्यपालिका सदस्य सावित्रा बर्देवा र प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदीप परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।