झापामा १२० सहकारीमा स्वरोजगार कोषको ६५ करोड लगानी
१५ दिन भित्र पैसा तिर्न अल्टिमेटम
झापा । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १५ दिन भित्र पैसा तिर्न अल्टिमेटम दिएको छ । कोषले सोमबार एक सूचना जारी गर्दै कर्जा सम्झौता गरी कोषको रकम निकासा लिएका देशभरका सहकारी संस्थाहरुलाई अबिलम्ब पैसा तिर्न अपिल गरेको हो ।
झापामा मात्रै १२० वटा सहकारीले कोषबाट ६५ करोड रुपैयाँ ल्याएर कर्जा लगानी गरेका छन् । ६५ करोड लगानी गरेर झापामा ३१ सय जनालाई व्यवसायी बनाएको छ । ०६९ सालदेखि झापामा कोषले लगानी गरेको कोषका झापा प्रतिनिधि सन्तोष सापकोटाले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष मात्रै ६९ सहकारीले कर्जाका लागि आवेदन दर्ता गराएका थिए । यो वर्ष पनि ३७ सहकारीले आवेदन दर्ता गराइसकेका छन् । अधिकांश सहकारीले कोषबाट प्राप्त गरेको रकम लगानी गरेर उपलब्धी देखाएको सापकोटाको भनाई छ । केहि सहकारीले नियमित रकम नुबझाएको उनको भनाई छ ।

यदि तोकिएको समय भित्र नतिरे कारबाही गर्ने चेतावनी समेत कोषले दिएको छ । कोषसँग कर्जा सम्झौता गरी कोषको रकम निकासा लिएका केही सहकारी संस्थाहरुले कोषको रकम नियमित रुपमा तिर्नु- बुझाउनु पर्नेमा बाँकी देखिएकाले सूचना प्रकाशित भएको १५ दिनभित्र कोषको खातामा रकम दाखिला गरी स्पष्ट बुझिने भौचरको प्रतिलिपि कोषमा उपलब्ध गराउन सम्बन्धित पक्षलाई कोषले भनेको छ ।
अन्यथा संचालन नियमावली, २०७७ एवं स्थानीय तहको निर्वाचन सम्बन्धि आचार संहिता २०७८ बमोजिम सहकारी विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइने समेत कोषले सूचनामा बताइएको छ ।