कार्यस्थलको हिंसा प्रतिवाद गर्न आवश्यक
बिर्तामोड । कार्यस्थलमा हुने हिंसा न्यूनिकरणका लागि प्रतिवाद आवश्यक भएको बताइएको छ । झापामा आयोजित एक कार्यक्रममा कार्यस्थलमा हुने विभिन्न खाले हिंसा न्यूनिकरणका लागि सशक्त प्रतिवाद आवश्यक भएको बताइएको हो ।
बुधबार झापाको बिर्तामोडमा मिडिया एड्भोकेसी ग्रुप र सोलिडारिटी सेन्टरको सहयोगमा आयोजित एक कार्यक्रममा सहभागीहरुले कार्यस्थलमा सहकर्मीहरुबाट बढी हिंसा हुने बताउँदै त्यसको न्यूनिकरणका लागि पहिलो कदमको रुपमा त्यसको प्रतिवाद रहेको बताएका छन् । कार्यक्रममा बोल्दै नारी संचार गृह झापाकी अध्यक्ष भिमा शिवाकोटीले पुरुषको तुलानामा महिलाहरु बढी हिंसाको शिकार हुने भन्दै त्यस्ता कार्यलाई निरुत्साहित गर्न प्रतिकार गर्नुपर्ने बताइन् ।
कार्यक्रममा सहभागी झापाका डेढ दर्जन सञ्चारकर्मीहरुले आफूले भोगेका हिंसाका घटनाहरुलाई प्रस्तुत गरेका थिए । संचारगृहहरुले समयमा तलब नदिने, पुरुषको तुलानामा महिलाहरुलाई समान प्रकृतिको काममा पनि कम पारिश्रमिक दिने, सहकर्मीहरुले प्रविधिको प्रयोग गरी व्ल्याकमेलिङ गर्ने जस्ता अनुभवहरु बताएका थिए । पुरुषको तुलानामा नेतृत्व तहमा रहेका महिलाहरुलाई कम महत्व दिने गरेको सहभागी महिला सञ्चारकर्मीहरुले गुनासो पोखेका थिए ।
सहभागी सञ्चारकर्मीहरुले सहकर्मीबाट मात्र नभएर प्रहरी प्रशासन लगायतका व्यक्तिहरुबाट समेत हिंसा हुने गरेको बताएका छन् । हिंसा एक जघन्य अपराध भएको बताउँदै उनीहरुले हिंसा गर्नेहरुलाई समाजबाट तिरस्कार गर्नुका साथै सामाजिक गतिविधीमा सामेल गराउन नहुने सुझाव पेश गरे । कार्यक्रममा अग्रज पत्रकार मोहनकाजी, लिला अनमोल, रेजिना रोदन, माया मितु, इन्दु पूर्वेली, नरेन्द्र ढकाल, शिशिर चौँलागाई लगायतले आफ्ना अनुभव तथा धारणा राखेका थिए । कार्यक्रममा आयोजकको तर्फबाट सावित्रा दाहाल र अम्बिका भण्डारीले सहजीकरण गरेका थिए ।