हिंसाविरुद्ध प्रतिकार गरौं
सम्पादकीय
एक जना लोकप्रिय युवा कलाकार पूर्पक्षका लागि कारागार चलान भए । जवरजस्ती करणीको आरोप लागेका व्यक्ति कारागार चलान भएको घटनाले सचेत र सजग हुनुपर्ने सन्देश दिएको छ । बालिकामाथि जक गरेको अभियोगमा कसैले पनि उन्मुक्ति पाउनु हुदैन । त्यसको संरक्षण गर्नु अर्को अपराध ठहरिनेछ । बालकालिका होस् वा वयस्क कसैमाथिको ‘जक’ क्षम्य छैन । नेपाली समाजमा बढ्दै गएका यस प्रकारका घटनाले हाम्रो समाजमाथि व्यापक समस्या रहेको स्पष्ट पारेको छ । कलाकारको घटना सबैले विश्वास गरेको अवस्था छैन ।
हत्या, हिंसा र बलात्कारजन्य घटनाले नेपाली समाजलाई कुरुप बनाइरहेको छ । यस प्रकारका घटनाको न्यूनिकरणका लागि राज्य पक्षको भूमिका नै महत्वपूर्ण हुन्छ । राज्यले कानुनको कार्यान्वयनमा मात्रै चासो दिने हो भने पनि समस्या केहि मात्रामा घट्ने छ । हिंसाजन्य घटनाको न्यूनिकरणका लागि सर्वप्रथम शिक्षामै यसका विरुद्ध कानुनी विषयहरु राखिनुपर्छ । कानुनी व्यवस्था र आवश्यक सचेतना सामग्री पाठ्यक्रममै राख्ने हो भने यस किसिमका समस्याहरु हल हुँदै जाने थिए । त्यसका लागि सबै क्षेत्रको दायित्व छ ।
कलाकारको घटना एउटा प्रतिनिधि घटना मात्र हो । समाजमा छोटो समयमै विश्वास गर्ने हुँदा धेरै जना हिंसामा परेका छन् । जवरजस्ती करणीमा परेका छन् भने बलात्कृत पनि भएका छन् । यसैले हरेक सन्दर्भमा एउटा सभ्य व्यवहार गरौं । सामान्य हिंसाको अनुभूति भएमा मात्रै त्यसको प्रतिकारमा जाऔं । परिवारमा त्यस किसिमका समस्या राखौं । कानुनी कारवाहीका लागि सहयोग मागौं र हिंसा विरुद्ध सशक्त अभियान सञ्चालन गरौं ।