बैशाख ३०, २०८२ मंगलबार

सबैको मन त्यस्तै भए पो

सम्पादकीय
झापाको अर्जुनधारा ५ फुलवारीमा एक जना अशक्त दम्पतीलाई बिर्तामोडका व्यवसायीले घर निर्माण गरिदिए । उनले व्यक्तिगत खर्च गरेर बनाएको घर आइतवार नै हस्तान्तरण गरिसेकका छन् । घर पाउने श्रीमान कान सुन्दैनन् । श्रीमतिको दृष्टि गुमेको रहेछ । दुवै जनाको शारिरीक अवस्था देखेर बिर्तामोडका व्यवसायी मोहन पोखरेल र टिका पोखरेलले घर निर्माण गरिदिए । सामान्य ज्याला मजदुरी गरेर बसेका धर्मराज गिरी र राजकुमारी गिरीले त्यो खुशीलाई व्यक्त समेत गर्न सकेनन् । बस्, उनीहरुले नयाँ घर पाए । अनुहारमा खुशी त थियो, तर बोल्न सकेनन् ।

घर निर्माण गरेर दिएको पहिलो घटना होइन । यस प्रकारका घर निर्माण गरेका घटनाहरु यसअघि पनि छन् । तर, यो घर निर्माणमा कतै स्वार्थ लुकेको पाइएन । घर निर्माणकर्ताले विगतमा आफुले घर नहुँदाको बेला सम्झिएर सहयोग गरेको सुनाए । हावाहुरी आउँदा बलो समाएर रात विताएको कुरा सुनाए । घर निर्माणकर्ता पोखरेलमा कस्तो महान मन रहेछ । आजको समयमा पनि समाजमा यसै प्रकारका मानिस भेट्टाउन कति गाह्रो छ । मन भएमा सामाजिक सेवा गर्न वास्तवमा कसैले रोक्न सक्दैन । कर्तव्य फाउण्डेशन मार्फत निर्माण गरिएको घर एउटा अभियान हो । जहाँ कसैले चन्दा दिइरहनु पर्दैन ।

मेरो पनि एउटा सुन्दर घर होस् भन्ने अभियानमा जोडिएर मन हुनेहरुले अशक्त, अपांगता भएका व्यक्तिलाई घर निर्माण गर्न सक्नेछन् । राम्रो पक्ष के हो भने, त्यहाँ फोटो सेसन भएन । तर, केहि सामाजिक सेवाको पगरी गुथ्नेहरु बेलज्जा भएर घुमिरहेका छन् । जो अरुको सहयोगमा पनि आफु श्रेय लिइरहेका हुन्छन् । र, फोटो सेसन गरिरहेका हुन्छन् । आसन पाउन सामाजिक सेवाको अन्तिम ट्याग झुण्डाउनेहरु कति इज्जत फालेर सहभागी भइरहेका छन् । कर्तव्यको अभियान अत्यन्तै राम्रो छ । यो महान अभियानलाई संयोजन गर्ने महेन्द्र गिरी र कर्तव्य फाउण्डेशनलाई सबैले सफल बनाऔं ।

प्रकाशित मिति : चैत्र १५, २०७८ मंगलबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]