इमान्दार उम्मेद्वारको खाँचो
सम्पादकीय
स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलबाट उम्मेद्वारका आकांक्षीहरु बढ्न थालेका छन् । वहालवाला जनप्रतिनिधि र विभिन्न पार्टीमा क्रियाशिल दलका नेता कार्यकर्ताहरु जनप्रतिनिधिका लागि आकांक्षा व्यक्त गरिरहेका छन् । निर्वाचनमा आम नागरिकको सेवामा क्रियाशिल हुन चहानु राम्रो विषय हो । निर्वाचनको माध्यमबाट निर्वाचित हुने जनप्रतिनिधिलाई मतदाताले पनि सोही अपेक्षा गरेर मत दिएका हुन्छन् । तर जब निर्वाचित हुन्छन्, तब उनीहरुले मतदाता भुलिदिन्छन् । यो घटना अहिलेको मात्र होइन ।
यस अखवारमा बिर्तामोडको मेयरमा एमालेबाट आकांक्षीहरुको समाचार प्रकाशन भयो । समाचारमा आम सामाजिक चर्चा परिचर्चा र पार्टीमा भएका आधिकारिक छलफलहरुको सूचनाका आधारमा आकांक्षीका बारेमा लेखिएको समाचारप्रति केहि आकांक्षी खरो नै उत्रिए । निर्वाचनको पूर्वसन्ध्यामा सामान्यतय सभ्य र नरम हुनुपर्छ । एउटा उम्मेद्वार बन्न इच्छा व्यक्त गर्ने नागरिकमा अनुशासन चाहिन्छ । सामान्य राजनीतिक चेतनाको खाँचो पर्छ । दम्भ र आक्रोस हुनेहरु आम नागरिकको पक्षमा काम गर्न सक्दैनन् । यो सबैमा लागु हुने विषय हो ।
सामाजिक रुपमा आफुले गरेका काम कारवाहीलाई सबैले नियालेको हुन्छ । त्यो समयावधिमा गरेका कामका आधारमा धन्यवाद पाइन्छ, गाली पाइन्छ । सकारात्मक सन्देश पाइन सक्छ र व्यापक आलोचना पनि हुन सक्छ । कसैले पनि आफ्नो पक्षमा सकारात्मक मात्रै हुनुपर्छ भन्ने मान्यता राख्नु बैक्कार छ । उम्मेद्वार बन्ने बेला आफ्नो कमि कमजोरीहरुलाई सच्याएर अघि बढ्छु भन्ने भन्दा पनि अरुको कमजोरी देखाएर भाग्नेहरु बेठिक हुन् । निर्वाचनमा जीत हासिल गर्न सर्वप्रथम आम नागरिकको प्रश्नको जवाफ दिन तयार हुनुपर्छ । आलोचना भएमा सच्चिनुपर्छ । सानो चित्त भएका र सामाजिक रुपमा धेरै आलोचितहरु व्यक्तिहरु आकांक्षी नभएकै राम्रो हो ।