सहकारी सामाजिक बनुन्
सम्पादकीय
गरिव, विपन्न नागरिकको उत्थान र आर्थिक उपार्जनमा सहयोग गर्ने उद्देश्यले सहकारी संस्था स्थापना भएका हुन् । खासगरी विपन्न परिवारलाई पनि आर्थिक पहुँचमा पुराउनका लागि सहकारी संस्थाहरु स्थापना भए । सहकारी क्षेत्रले स्थापनाकालदेखि आर्थिक क्षेत्र मार्फत गरिव, विपन्न नागरिकलाई सहयोग गर्दै आइरहेको अवस्था छ । वितेको ६५ वर्षमा सहकारी संस्थाको योगदानका कारण धेरै विपन्न परिवारले राम्रो आर्थिक उपार्जन गरेको पाइन्छ । तर, सहकारी संस्थाहरु अहिले विगतमा जस्तो इमान्दार भइरहेको अवस्था छैन ।
पछिल्लो समय सहकारी क्षेत्रमा व्यापक वेथिती छ । दुई चार सञ्चालकको फाइदाका लागि स्थापना गरिएका साना पुँजीका सहकारीले सदस्यको माग बमोजिम सेवा प्रदान गर्न सकिरहेको अवस्था छैन । सदस्यको बचत रकम सचेत फिर्ता गर्न नसकिरहेका सहकारी संस्थाहरुका कारण यो क्षेत्र नै बद्नाम भइरहेको छ । एउटा उद्देश्य राखेर स्थापना हुने र अर्को काम गर्ने सहकारीहरु पर्याप्त छन् । जसले सहकारीलाई विल्लीवाठ बनाइरहेको छ । सहकारीभित्रको अपारदर्शी व्यवहारका कारण कतिपय जिम्मेवार व्यक्तिहरु फरार नै हुनुपरेको घटना छ ।
झापामा कतिपय सहकारी संस्थाले सामाजिक रुपमा योगदान गरिरहेका छन् । समाजमा उदाहरणीय संस्थाहरु सामाजिक रुपमा परिचित पनि छन् । यहाँ सहारा नेपालले आवास निर्माणमा सहयोग गरेको प्रशंसायोग्य उदाहरण पनि छ । यस्ता कयौं कामहरु भएका छन् । धेरै जसो सहकारी संस्थाहरु फाइदाको पछाडि मात्रै पनि कुदेको पाउन सकिन्छ । जिल्लामा ठुला भनिएका केहि संस्था सामाजिक योगदानका नाममा सामान्य भन्दा सामान्य काम समाजका लागि गर्न सकिरहेका छैनन् । सहकारी संस्थाले आम सदस्यको मन जित्ने काम गर्नुपर्छ । सामाजिक रुपमा योगदान गर्न पनि अपरिहार्य छ । सहकारी स्थापनाको ६५ वर्षलाई थप रचनात्मक र जिम्मेवार बनाउँदै गरिवलाई उठिवास लगाउने होइन, जग बसाउन सहयोग पुगोस् । सहकारी दिवसको शुभकामना ।