बिन्ध्यावासिनीमा महायज्ञ उद्घाटन
इन्द्र कुमार राई
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका –४ भाङबारीस्थित बिन्ध्यबासिनी सिंहदेवी मन्दिरमा रामचरित्रा मानस रामकथा नवाह ज्ञान महायज्ञको शनिबार उद्घाटन गरिएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि एवम् बिएण्डसी हस्पिटलका प्रवन्ध निर्देशक दुर्गा प्रसाईले पानसमा बत्ती बालेर महायज्ञको उद्घाटन गरेको थिए ।
शक्तिपीठको पाँचौं बार्षिक अनुष्ठान रुपमा रामनवमी अवसरमा सप्ताहव्यापी नवाह ज्ञान महायज्ञमा रामकथा आज वाचन गरिने आयोजकले बताएको छ । शक्तिपीठमा राधाकृष्ण मन्दिर निर्माण , योगमाया देवीको मुर्ति स्थापना , अक्षयकोष र भूनिदान निरन्तरता साथै मन्दिरको बृहत् बिकासका लागि महायज्ञ संचालन गरिएको हो । भारत सिक्किमका संदिप खरेलबाट महायज्ञ सफलताका लागि ४ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको मन्दिरका प्रेम कार्की जानकारी दिए ।
उद्घाटन समारोहमा अर्जुनधारा संस्कृत वेद विद्यापीठका बिद्यार्थीहरुले स्वस्तिवाचन गरेका थिए । प्रमुख वाचक पण्डित आशुतोष खनाल र उपवाचक पण्डित किरण चापागाईं रहने महायज्ञ २७ गते समापन हुने बताइएको छ । पीठका अध्यक्ष मनोज जोशीको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि प्रसाईले शुभकामना मन्तव्य राख्दै उनले शक्तिपीठको उन्नतिका निम्ति योगमाया देवीको मन्दिर निर्माण गरिदिएको तर देवीको प्रतिमा स्थापना गर्न बाँकी रहेकोले २५ गते देवीको मुर्ति प्रतिस्थापन गरि समितिलाई मन्दिर हस्तान्तरण गर्ने बताए ।
आगामी दिनहरुमा पनि शक्तिपीठलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा अर्जुनधारा नगरपालिका – ८ का वडा सदस्य सुशिला सुवेदी , अर्जुनधारा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष एकदेव खनाल, त्रिपुरेश्वर शिव मन्दिरका अध्यक्ष भोला बराल , दुर्गा शक्ति समाज कल्याण संघ ( ज्येष्ठ नागरिक मिलन केन्द्र ) का अध्यक्ष अमर कटुवाल, स्थानीय दैवीप्रकोप उद्धार समितिका अध्यक्ष जनार्दन उप्रेती , प्रमुख कथा वाचक खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसअघि कलशयात्राले नगरपरिक्रमा गरि मण्डप पूजा प्रारम्भ गरिएको थियो ।
भारत सिक्किमका भौतिक तथा यातायात मन्त्री संदिप खरेलबाट ४ लाख ५० हजार रुपैयाँ महायज्ञको सफलताको लागि सहयोग प्राप्त भएको मन्दिरका सचिव प्रेम कार्कीले जानकारी दिए । व्यक्ति कार्यक्रममा नआएको तर सहयोग प्राप्त भएको उद्घोष गरिएको थियो ।