उम्मेद्वार सिफारिसमा ध्यान देऊ
सम्पादकीय
स्थानीय तहको आसन्न निर्वाचनका लागि विभिन्न राजनीति दलहरुले चैत महिनाभित्र उम्मेद्वारका लागि नाम सिफारिस गर्नेछन् । नेपाली कांग्रेसले अबको ३ दिनभित्र नाम सिफारिस गर्न निर्देशन नै दिइसकेको छ । नेकपा एमालेले पनि चैत महिनाको अन्तिमसम्ममा नाम सिफारिस गर्न भनेको छ । यस्तै–यस्तै समयभित्र अन्य दलहरुले पनि नाम सिफारिस गर्ने तयारी गरिरहेका छन् । ०७९ बैशाख ३० गते हुने निर्वाचनका लागि दलहरुले पक्कै योग्य, क्षमतावान व्यक्तिलाई उम्मेद्वारमा सिफारिस गर्ने आम नागरिकको बुझाई छ ।
बेलाबेला देश किन बनेन भन्ने विषयमा बहस हुने गरेको छ । त्यसको धेरै जवाफमध्ये एउटा जवाफ हो, असक्षम व्यक्ति नेतृत्वमा पुगेर देश बनेन । अन्य धेरै कारणहरु हुन सक्छन् । यसैले दलहरुले उम्मेद्वारका रुपमा योग्य नागरिकलाई जनप्रतिनिधि बनाउन सिफारिस गर्नुपर्छ । अर्को, सामाजिक, आर्थिक र राजनीति बुजेको व्यक्तिलाई सिफारिस गरिनुपर्छ । त्यति मात्र होइन, विकास नबुझ्नेलाई सिफारिस गर्नै हुदैन । यदि त्यस्ता व्यक्तिलाई सिफारिस गरियो भने फेरि त्यहि बहस गर्नुपर्ने हुन्छ । बहस गर्दागर्दै देश धेरै पछि परिसकेको हुनेछ ।
आगामी निर्वाचनका लागि उम्मेद्वार छनौट गर्दा कम्तिमा २-४ योजना प्रस्तुत गर्नुपर्छ । त्यो योजना आफ्नो समाजका लागि दिर्घकालिन उपलब्धी बन्न सकोस् । अहिलेका जनप्रतिनिधिलाई विकास बुझ्न मात्रै पाँच वर्ष लाग्यो । पहिलो कार्यकाल त, कर्मचारी कै योजनाबाट पुरा भयो । कतिपय जनप्रतिनिधिले मात्रै सामान्य विकासको योजना बनाए र योजना अनुसार काम गर्न सफल भए । दलको इमान राख्न र मतदाताको मत सदुयोग गर्न संकुचित मनोभावना भएकाहरुलाई रोक्नुपर्छ । समाजका लागि खुला हृदय बनाएर काम गर्नेहरुलाई मात्रै मतदाताले विजय गराउनुपर्छ । यदि कुनै पनि राजनीतिक दलले अयोग्य, विवादित व्यक्तिालाई उम्मेद्वार बनाएमा मतदाताले विवेक पुराउनुपर्नेछ ।