पूर्वाधारमा जग बसालेको शिवसताक्षी
सम्पादकीय
झापाको मध्य भागमा पर्ने शिवसताक्षी नगरपालिकाले सबै वडामा विकासलाई समान वितरण गरको छ । आम नागरिकमा सुविधा पुग्ने गरि नगरपालिकाले विकास आयोजनाहरु सञ्चालन गरेको पाइएको छ । नगरको गौरवको आयोजनाका रुपमा रिङरोड बनाएको छ । रिङ रोडमा ११ किलोमिटर कालोपत्रेको काम पनि गरिसकेको छ । रिङरोड, नयाँ शाखा बाटाहरु पर्याप्त निर्माण गरेको शिवसताक्षीले नगरसम्म जोडिने सडक पूर्ण रुपमा तयार गरिसकेको छ । कृषि,शिक्षा र स्वास्थ्यमा प्राथमिकताका साथ काम गर्दै आएको नगरपालिकाले विकास जग बसाएको छ ।
शिवगञ्जमा कृषि मण्डी निर्माण गरिरहेको छ । थोक र खुद्रा दुवै खाले मण्डी निर्माण गरिरहेको नगरले कृषकको उत्पादनलाई बजारीकरणमा सहयोग गर्न करोडौं लगानी गरेको पाइएको छ । नगरका अधिकांश नागरिक कृृषिमा निर्भर छन् । उनीहरुले उत्पादन गरेको कृषि वस्तुले उचित मुल्य नपाइरहेको अवस्थामा कृषि मण्डीको पूर्वाधार विकासले स्थानीय कृषकलाई राहत मिल्ने निश्चित छ । त्यसका लागि नगरले बनाएको योजना सफल रुपमा अघि बढिरहेको छ । कृषकलाई कृषि औजार र अनुदानमा पनि सहयोग गरेको पाइएको छ ।
स्थानीय तहले पाँच वर्षको काम गरेको अध्ययन गर्न गाउँ–गाउँ जानैपर्नेछ । तल्लो तहसम्म जाँदा मात्रै विकास देखिने रहेछ । यो संघीय व्यवस्थाले हरेक नागरिक विकास आयोजनाको पहुँचमा पुगेको पर्याप्त उदाहरण शिवसताक्षी घुमफिर गर्दा देखिन्छ । धार्मिक पर्यटकीय दृष्टिले अगाडि रहेको शिवसताक्षीले धार्मिक क्षेत्रको संरचना निर्माणमा पनि उत्तिकै लगानी गरेको छ । शिक्षा क्षेत्रको पूर्वाधार विकास र गुणस्तर सुधारमा विशेष योजनासहित काम गरिरहेको शिवसताक्षी नगरपालिकाले विकासमा जग बसाएको स्पष्ट देख्न सकिन्छ ।