न्याय सम्पादनमा उत्कृष्टता हासिल भयो : उपप्रमुख महतरा
बिर्तामोड । बिर्तामोड नगरपालिकाको न्यायिक समितिको कार्यकालको चार वर्षमा ३२९ वटा मुद्दाको न्याय निरुपण गरेको छ । समितिले जटिल प्रकृतिका मुद्दासमेत छिनोफानो गरी किनारा लगाएको जनाएको छ ।
बिर्तामोड नगरपालिकाकी उप्रप्रमुख तथा न्यायिक समितिकी संयोजक पवित्रा महतारा प्रसाईले न्यायिक समितिका तर्फबाट सोमबार कार्यालयमा पत्रकार सम्मेलन गरि आफ्नो नेतृत्वमा सम्पादन भएका कामबारे अवगत गराइन् । उनले न्याय निरुपणमा कुनै अन्याय नहुने गरि आफूले काम गरेको बताइन् ।

बिर्तामोड नगरपालिकाको न्यायिक समिति झापामा उत्कृष्ट भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको विषय क्षेत्र मानिएको समिति न्यायिक कार्य सम्पादनमा झापामै उत्कृष्ट भएको हो ।
सबै स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था छ । झापाका १५ वटा पालिकामध्ये बिर्तामोड नगरपालिका उत्कृष्ट बनेको हो । झापा जिल्ला अदालतले गरेको मूल्यांकनमा बिर्तामोडको न्यायिक समिति उत्कृष्ट भएको हो ।
प्रचलित कानुनी व्यवस्था, त्यसका आधारमा गरिएको न्याय सम्पादन र निरुपणले आफू नेतृत्वको समितिले उत्कृष्टता हासिल गरेको बिर्तामोड नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक पवित्रा महतारा प्रसाईले जानकारी दिइन् ।
पहिलो कार्यकालमा न्याय सम्पादन बारे पत्रकारलाई जानकारी दिदंै उनले आगामी निर्वाचनमा मेयरमा उम्मेद्वारी दिने संकेत गरेकी छन् । उपमेयर भएको हुँदा स्वभाविक रुपमा मेयरको आकांक्षी हुनुलाई अन्यथा ठान्न मिल्दैन । उनले पार्टीको निर्णयलाई आत्मसाथ गर्दै चुनावको तयारी गर्ने बताइन् ।