अर्जुनधाराको मेयरमा चार जना आकांक्षी, गिरीले भने ‘म होइन’
बिर्तामोड । झापाको धार्मिक पर्यटकीय नगर अर्जुनधारामा चुनावी चहलपहल बढेको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि दलहरु उम्मेद्वार सिफारिसको तयारी जुटिसकेका छन् ।
अर्जुनधारा नगरपालिकामा बहुमत प्राप्त नेकपा एमाले फेरि नगरमा जीत हासिल गर्ने रणनीति सहित चुनावी मैदानमा क्रियाशिल भएको छ । नेकपा एमालेले ०७४ को निर्वाचनमा मेयर, उपमेरसहित बहुमत सिट जितेको थियो । अर्जुनधारामा आउँदो निर्वाचनमा वहालवाला जनप्रतिनिधिसहित पार्टीका नेताहरु मेयरमा आकांक्षा व्यक्त गरिरहेका छन् ।
गएको निर्वाचनमा मेयर हरि कुमार रानाले ४ हजार २ सय ३२ मत अन्तरले कांग्रेसका हेम प्रसाद खरेललाई पराजित गरेका थिए । खरेलले ९ हजार ६ सय ४१ मत प्राप्त गरेका थिए । माओवादीका उम्मेद्वार भूपेन्द्र नेउपानेले २५ सय ६ मत प्राप्त गरेका थिए ।

नेकपा एमालेबाट अर्जुनधारामा मेयर हरि कुमार रानासहित ५ जनाले मेयर पदको आकांक्षा व्यक्त गरेको चर्चा छ । वहालवाला मेयर राना, वहालवाला उपमेयर कमला आचार्य, पार्टीका नगर अध्यक्ष बलदेव गोम्देन, पार्टीका पुराना नेता एवम् मेची क्याम्पसका पूर्व प्रमुख कमल गुरागाई र संविधानसभाका सदस्य एवम् नेकपा एमाले झापाका उपाध्यक्ष प्रेम गिरीले मेयरमा आकांक्षा व्यक्त गरिरहेको चर्चा भइरहेको छ ।
अर्जुनधाराको बलियो दावेदारका रुपमा राना र पार्टीका नगर अध्यक्ष बलदेव गोम्देन देखिएका छन् । उनीहरुले पार्टीले सिफारिस गरेमा उम्मेद्वार बन्ने र जीत हासिल गर्ने बताए । पार्टीको निर्णय अनुसार आफुहरु अघि बढ्ने उनीहरुको धारणा छ ।

मेयर रानाले पाँच वर्षको अन्तरालमा कानुन अभावमा काम गर्दै नगर विकास योजना अघि बढाएको जानकारी दिएका छन् । उनले थालेका काम पुरा गर्न पार्टीले आफुलाई अघि सार्ने विश्वास लिएका छन् । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा उल्लेख्य काम गरेका मेयरले शुरुआत गरेका आयोजनाहरु पुरा गरेर समृद्ध अर्जुनधाराको परिकल्पना साकार पार्ने रानाको धारणा छ । पहिलो कार्यकालमा सबै वडा कार्यालय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण पुरा गरेको नगरपालिकाले आम नगरवासीको चहाना पुरा हुँदै गएको जनाएको छ ।
अर्जुनधाराका मेयर रानाले वडा नं. १ मा कनकाई, बिर्तामोड,अर्जुनधारा र बुद्धशान्तिका लागि एकिकृत विद् केन्द्र स्थापनाको लागि केन्द्र सरकारसँग माग गरेको जानकारी दिए । विपद् केन्द्रमा दमकल, एम्बुलेन्स, शव बाहन र विपद्मा आवश्यक पर्ने सामग्री राखिने बताए । सो केन्द्रको स्थापनाले विपद्मा ठुलो क्षति हुन नदिने जानकारी दिए ।

यस्तै, धार्मिक पर्यटकीय अर्जुनधारामा नगरले अर्जुनधारा धामको विकास र प्रवद्र्धनका लागि सुन्दर शनिश्चरेको अवधारणा बनाएर काम गर्दै आएको छ । बजार क्षेत्रलाई स्मार्ट बनाउने नगरको योजना अनुसार काम अघि बढेको छ । मेयर राना भन्छन्, – धेरै संरचनाहरु बनिसकेका छन्, केहि संरचना बन्ने तयारीमा छन् ।
यस्तै, साठीमुरेमा ऐतिहासिकता झल्काउने सामुदायिक बौद्ध भवनको डिपीआर गरेर नगरपालिकाले पूर्खाको १० अवतार बनाउने लक्ष्य अघि सारेको छ । सो भवनमा सप्तऋषि, नौमाता र महागुरु फाल्गुन्दको प्रतिक राख्ने योजना बनाएको छ ।
नगरको अर्को गौरवको आयोजनाका रुपमा रहेको बिर्तामोड–अर्जुनधाराको सीमामा प्रवेशद्वार निर्माण गरिरहेको छ । प्रवेशद्वारमा अर्जुन र गाई, आदिकवि भानुभक्त, मोतिराम भट्टको अर्धकदको शालिक बनाइरहेको छ भने त्यहाँ भाषशास्त्री महानन्द सापकोटाको पूर्ण कदको शालिस राख्ने तयारी गरेको छ । त्यो काम अन्तिम चरणमा पुगेको छ ।
वडा नं. २ मा जोखिममा रहेका बस्तीलाई अध्ययन गरेर नगरकै लगानीमा ८ परिवारका लागि आवास व्यवस्था गर्दै स्थानान्तरण गरिसकेको बताइएको छ । नगरपालिकाले पाँच वर्षको अन्तरालमा स्थानीय दाताबाट शनिश्चरे अस्पतालका लागि १ विगा २ कठ्ठा १० धुर, वडा र आधारभुत स्वास्थ्य केन्द्रका लागि ३८ कठ्ठा जग्गा प्राप्त गरिसकेको छ । कृषि मण्डी निर्माणका लागि दाताबाट १० कठ्ठा प्राप्त गरेको नगरपालिकाले १० कठ्ठा खरिद गरेको थियो ।

यस्तै, मेयरका अर्का दावेदार हुन्, वडा नं. १० का वडाध्यक्ष एवम् पार्टीका नगर अध्यक्ष बलदेव गोम्देन । उनी राजनीतिसँगै सामाजिक सेवामा क्रियाशिल भएका व्यक्ति हुन् ।
यता, इजलाससितको कुराकानीमा संविधानसभाका सदस्य एवम् झापा पार्टीका उपाध्यक्ष गिरीले आफु मेयरको आकांक्षी नभएको स्पष्ट पारेका छन् । गिरीले भने, चर्चा भएको हुन सक्छ । तर म आकांक्षी होइन । पार्टी कार्यकर्ताबाट जोड भइरहे पनि आफ्नो आकांक्षा नरहेको बताए ।
पार्टीका नगर अध्यक्ष बलदेव गोम्देनले आकांक्षी भएको स्वीकार गरे । ‘मेरो जवरजस्ती रहदैन, पार्टीको निर्णय मान्नेछु’, उनले भने– आकांक्षी भएकाले त्यो कुरामा पार्टीले अवश्य ध्यान दिनेछ । आफु पार्टीको हितमा भएकाले सोही अनुसार अघि बढ्ने उनको धारणा छ । आफु उम्मेद्वार नभएमा पार्टीको उम्मेद्वारलाई विजयी गराउन प्रतिवद्ध रहनेछु ।