स्वास्थ्य सेवामा अब्बल अर्जुनधारा
अर्जुनधारा सेरोफेरो –
जनप्रतिनिधिले नगरपालिकाको नेतृत्व गरेपछि झापाको अर्जुनधारामा स्वास्थ्य क्षेत्रले नागरिकको स्वास्थ्य सेवामा कायापलट गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखा जनताको स्वास्थ्यप्रति उत्तरदायी बनेको नगरका बासिन्दाहरु बताउँछन् ।
नगरपालिकाले जनताको स्वास्थ्यलाई सबैभन्दा धेरै प्राथमिकतामा राखेको छ । कोभिड महामारीका समयमा होस वा अन्य समयमा जनताको स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा सम्झौता नगरिएको सर्बत्र सुन्न सकिन्छ ।
कोरोना संक्रमणको चरम अवस्थामा नगरपालिकाले त्यसलाई नियन्त्रणको लागि झापामा सबैभन्दा प्रभावकारी उपाय अपनाएको भन्दै त्यसको प्रशंसा भएको थियो । नगरपालिकाले उपलब्ध श्रोत साधन कोभिड नियन्त्रणमा केन्द्रित गरेर काम गरेको हुनाले कोरोना संक्रमण दर झापाकै अन्य स्थानीय तहको तुलनामा कम भएको पाइएको थियो । क्वारेन्टिन, आइसोलेसन ब्यवस्थापन र राहत सामग्री वितरणमा नगरपालिकाले देखाएको सक्रियताको स्थानीयले उच्च प्रशंसा गरेका थिए ।

बिगत ५ बर्षमा नगरपालिकाले भौतिक निर्माणमा समेत उल्लेख्य उपलब्धी हासिल गरेको छ । बिभिन्न वडाहरुमा वडा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । यस अवधिमा १ बिगाहा १५ कठ्ठा जमिन प्राप्त भएको छ । त्यस जमिनमा भवन बनाउने क्रम जारी रहेको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मुकुन्द बस्नेतले बताए । उनले अर्जुनधारा नगरपालिका वडा नम्बर १ मा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिसकिएको जानकारी दिए । त्यस्तै वडा नम्बर २ मा आधारभुत स्वास्थ्य केन्द्र, २ कै सहकालेमा बाह्य खोप केन्द्रको पक्की भवन बनिसकेको बस्नेतले जानकारी दिए ।
वडा नम्बर ३ र ४ मा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण हुने तयारी छ । यसैगरी वडा नम्बर ५ मा आधारभुत स्वास्थ्य केन्द्रको २ वटा भवन निर्माण भएर सेवा प्रवाह भइरहेको छ । ६, ७, ८, ११ नम्बर वडामा आधारभुत स्वास्थ्य केन्द्रको लागि भवन निर्माण गरेर सेवा प्रदान गरिरहेको बस्नेतले बताए । यस्तै वडा नम्बर १० मा २ वटा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । वडा नम्बर ९ मा प्राप्त भएको १ बिगाहा जमिनमा सुविधासम्पन्न ‘शनिश्चरे अस्पताल’ निर्माणको तयारी भइरहेको छ ।
५ बर्षको अवधिमा शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा रुपान्तरण गरेर सञ्चालनमा रहेको छ । अस्पतालले अहिले २४ घण्टे सेवा प्रदान गरिरहेको छ । सुविधासम्पन्न सरकारी अस्पताल भएका कारण रकम तथा उपचारको अभावमा रोग पालेर बस्नुपर्ने अवस्थाबाट नगरवासी मुक्त भएका छन् ।

नगर अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध रहेको छ । मेजर अपरेशन बाहेकका जेनेरल मेडिसिन सम्बन्धि सम्पुर्ण सेवा नगर अस्पतालले प्रदान गर्दै आएको बताइएको छ । नगर अस्पतालबाट दैनिक ५ सय जना भन्दा बढी सेवाग्राहीले उपचार सेवा पाइरहेको अस्पतालको रेकर्डमा उल्लेख छ ।
नगरपालिकाले यस अवधिमा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । नगरमा उपमेयरसँग आमाशिशु स्वास्थ्य कार्यक्रम अन्तर्गत नगरका कार्यरत स्वास्थ्यकर्मीले ३ वा ७ दिनमा सुत्केरी महिलाको घरैमा गएर स्वास्थ्य परीक्षण तथा मायाको कोसेली प्रदान गर्ने कार्यक्रम सञ्चालनमा छ । मायाको कोसेलीमा आमा र बच्चाको लागि झुल, ब्ल्यांकेट, थर्माेमिटर, पौष्टिक आहार, बच्चा र आमालार्ई आवश्यक पर्ने कपडा लगायतका सामग्री वितरण गरिरहेको स्वास्थ्य शाखाका नर्सिङ बिभाग प्रमुख दुर्गादेवी चापागाईँले जानकारी दिइन् ।
अन्य स्थानीय तहको भन्दा केही उत्कष्ट र जनपक्षीय काम गरौ भन्ने उद्देश्यले नगरले ‘कार्डियाक डाइवेटिक क्लब’ गठन गरेको छ । मधुमेह र उच्च रक्तचापका बिरामीलाई सो क्लबमा संगठित गरेर निःशुल्क औषधी वितरण गरिरहेको उनले बताइन् । दुई बर्षअघि देखि शुरु गरेको सो क्लबमा मधुमेह र उच्च रक्तचापका बिरामीको आकर्षण बढ्न थालेको नगर स्वास्थ्य शाखाले जनाएको छ । नगरले हरेक वडाको बजेटमा क्लब सञ्चालनका लागि बजेट बिनियोजन गरेर त्यति नै थप रकमको ब्यवस्था गर्ने गरेको छ । त्यो रकमले मधुमेह र उच्च रक्तचापका बिरामीलाई निशुल्क औषधी प्रदान गर्ने गरिएको हो ।
नगरका २, ६, ७, ८, १० र ११ नम्बर वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिरहेको छ । आधारभुत स्वास्थ्य केन्द्रमा ५४ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यारत रहेका छन् । कर्मचारी तथा आवश्यक उपकरणको व्यवस्था गरेर पुर्णरुपमा सञ्चालन भइरहेको बताइएको छ । यसैगरी स्वास्थ्य बीमा कार्यक्रमलाई सहज र नगरवासीको सहज पहुँचका लागि नगर अस्पतालमा औषधी पसल सञ्चालन गरिएको छ ।
नगरपालिकाले हाल तीनवटा एम्बुलेन्स सञ्चालन गरिरहेको छ । यसैबर्ष भारतीय दुतावासको सहयोगमा प्राथमिक उपचारसहितको एउटा एम्बुलेन्स उपलब्ध भएपछि नगरपालिकामा तीनवटा एम्बुलेन्स सञ्चालनमा आएका हुन् । नगरले सञ्चालन गरेको एम्बुलेन्स कोरोना संक्रमण उच्च भएको समयमा नगरवासीलाई निशुल्क रुपमा उपलब्ध गराइएको थियो । अन्य समयमा पनि नगरवासीले सुलभ मुल्यमा नगरपालिकाको एम्बुलेन्स प्रयोग गरिरहेका छन् ।
कोरोना संक्रमणको समयमा नगरले ब्यवस्थित रुपमा क्वारेन्टाइन सञ्चालन गरेको थियो । नगरले नयाँ अवधारणासहित सञ्चालन गरेको क्वारेन्टाइनको त्यसबेला सर्वत्र चर्चा भएको थियो । कोरोना संक्रमणको पहिलो चरणमा ८१३ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । दोस्रो चरणको कोभिड संक्रमणमा ४० जनालाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । यस्तै पहिलो चरणको संक्रमण फैलिंदा १ हजार २११ जना र दोस्रो चरणमा सक्रमण बढ्दा २ हजार ७०६ जनाको पीसीआर टेष्ट गरिएको नगर अस्पतालको रेकर्डमा छ ।
यस अवधिमा २ हजार ६२२ जनालाई बिषेशज्ञ चिकित्सकसहितको टोलीले घरभेट (आरआरटी) गरेर आवश्यक सल्लाह सुझाव दिने काम गरिएको थियो । संक्रमणको समयमा ‘भोकै कोही नपरुन, भोकले कोही नमरुन’ भन्ने उद्देश्यका साथ राहत वितरण गरिएको थियो । नगरपालिकाले संक्रमणलाई न्यून बनाउन तथा संक्रमण फैलिन नदिन उपलब्ध सम्पुर्ण श्रोतको त्यस क्षेत्रमा केन्द्रित परिचालन गरेको थियो । यस्तै कोभिडका कारण सदस्य निधन हुने परिवारलाई २५ हजार रुपैंयाँ राहत उपलब्ध गराइएको थियो । त्यसरी निधन भएका नगरवासीको शव ब्यवस्थापन नगरपालिकाले नै गरेको थियो । नगरपालिकाले नगरवासीलाई प्रभावकारी स्वास्थ्य सुविधा उपलब्ध गराएपछि उनीहरुले स्थानीय सरकारको अनुभूति गरेका छन् ।
………..
‘नगर अस्पताल निर्माणमा जुटेका छौं’
अर्जुनधारा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष तथा नगरस्तरीय शनिश्चरे अस्पतालका ब्यवस्थापन समितिका अध्यक्ष पुष्प प्रसाईँसँग नगरपालिकाले सञ्चालन गरेको शनिश्चरे अस्पताल र यहाँबाट सेवाग्राहीलाई उपलब्ध हुने सुविधाबारे इजलासले गरेको कुराकानी सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
१, नगर अस्पताल कसरी सञ्चालन भइरहेको छ ?
हामीले प्राथमिक स्वास्थ्य केन्द्रलाई्र शनिश्चरे अस्पतालमा परिणत गर्ने निर्णय ग¥यौंं । त्यो बेला तत्कालिन मुख्यमन्त्री माननीय शेरधन राईले अस्पताल उद्घाटन गर्नुभएको थियो । दुई बर्ष अगाडिदेखी जब अस्पतालमा परिणत गरियो त्यो बेलादेखि यहाँबाट २४ घण्टे स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौ । कर्मचारीलाई दैनिक तीन सिफ्टमा परिचालन गरेर यो अस्पताल पुर्णरुपमा सञ्चालनमा छ । सेवाग्राहीहरुको अहिले अत्यन्तै चाप बढिरहेको छ । अस्पतालको क्षमताले धान्न मुस्किल हुने अवस्था छ । किनभने स्वास्थ्य बीमाको कारणले पनि यो भएको होला ।

२, तपाई अध्यक्ष भएपछि यसको सेवा सुविधामा के–के थप भए ? के सुधार गर्न सक्नु भयो ?
तपाईलाई थाहा नै छ, प्राथमिक स्वास्थय केन्द्रमा के के सुविधा उपलब्ध हुन्छ ? हामीले त्यो सुविधा अपग्रेड ग¥यौं । अनि अस्पतालको रुप दिएर सञ्चालन गरिरहेका छौं । हामी आएपछि थुप्रै पूर्वाधारका कामहरु भएका छन् । बार्षिक रुपमा एउटा–एउटा भवनहरु पनि हामीले बनाइरहेका छौ । हामीसँग दाताले दिएका उपचारका उपकरणहरु पनि छन् । केही उपकरण हामी आँफै खरीद गरेका छौं र थप खरीद गर्ने योजनामा छौं । अझै पनि अस्पताललाई हामीले सोचेजस्तो अलि बनाउन सकेका छैनौ जस्तो लाग्छ । किनभने यहाँ जमिन कम्ति भएको छ । १५ कठ्ठाभन्दा माथि जमिन हुनुपर्छ भन्ने मापदण्ड रहेछ । हामीले अहिले दाताहरुबाट यहाँ नजिकै १ बिगाहा २ कठ्ठा जमिन प्राप्त गरिसकेका छौं । त्यहाँ तत्काल १५ बेडको अस्पताल बनाउन संघीय सरकारसँग १८ करोड रुपैंयाँ माग गरेका छौ । त्यहाँको माटो परीक्षण गरेर आधुनिक र ब्यवस्थित भवन निर्माणको प्रक्रियामा छ ।
यो अस्पतालमा म ५ बर्षअघि अध्यक्ष भएर आउँदा बीउ पुँजी भनेर ५ लाख रुपैंयाँ उपलब्ध भएको थियो । अहिले १ करोडभन्दा बढी रकम सञ्चित गर्न सफल भएका छौं । कर्मचारीहरुलाई ब्यवस्थापन गर्दै सञ्चालन गर्दै गयौं । सरकारी अस्पतालमा १ जना डाक्टरको दरबन्दी हुँदा पनि यहाँ नआइरहेको अवस्था थियो । केही डाक्टरहरु सिकाइको हिसावमा दुई बर्ष तालिमको रुपमा ल्याएर हामीले काम गर्न लगायौंं । अहिले बिषेशज्ञ चिकित्सकको सेवा प्रदान गरिरहेका छौ ।
अहिले ८,९ जनालाई नगरपालिकाबाट सेवा सुविधा उपलब्ध भएको छ । २३ जनालाई दैनिक ज्यालादारीका रुपमा अस्पतालले सुविधा उपलब्ध गराउँदै आएको छ । हाम्रो बिषेश आम्दानी भनेको चाहि स्वास्थ्य बीमाबाट आउने रकम हो ।
३, अस्पताललाई कुन तहको बनाउने लक्ष्य थियो ? अब के पुरा गर्न बाँकी छ ?
यो चाहि जति ग¥यो उति पुग्दो रहेनछ । जति गरेपनि कम भइरहने । काम त धेरैै बाँकी छन् । हामीले कुन कुन अस्पताल कसरी सञ्चालन भएका छन् भनेर अध्ययन ग¥यौं । धेरै ठाउँमा पुगेर तिनको सञ्चालन प्रक्रिया बुझ्यौं । ब्यवस्थित ल्याव कसरी बनाउन अनि सञ्चालन गर्न सकिन्छ भनेर अध्ययन ग¥यौं । बिरामीलाई कुन बिधिबाट उपचारमा सहज हुन्छ भन्ने कुरा अध्ययन ग¥यौ । स्वास्थ्य बीमा अन्र्तगतका औषधीहरु हामीले ठेक्का प्रणालीबाट जाँदा बिरामीलाई सहज हुन्छ कि आफै वितरण गर्दा सहज हुन्छ भन्ने अध्ययन ग¥यौं । अब एउटा सिस्टम तयार भएको छ, त्यही अनुसार सञ्चालन गर्दा प्रभावकारी हुन्छ भन्ने हाम्रो निष्कर्ष छ ।
४, सेवाग्राहीको दायरा कस्तो छ ? कहाँ कहाँबाट यहाँ सेवा लिन आउँछन ?
अर्जुनधारा नगरपालिकाबाहेक इलाम जिल्लाका केही पालिकाहरु, बुद्धशान्ति, बिर्तामोड र कनकाई नगरपालिकादेखिका मान्छे यहाँ उपचार गर्न आउँछन् । दिनमा ४ सयदेखि ५ सय बिरामी यहाँ ओपीडीमा उपचार गर्न आउँछन् ।
५, ब्यवस्थापनमा चुनौती के छ ?
अहिले चाहिं बिरामीको चाप धान्न हम्मे हम्मे परेको छ । अत्यावश्यक उपकरण खरीद गर्न सकिएको छैन । एउटा सानो ल्याबटप जस्तो उपकरणबाट भिडियो एक्सरे गर्नुपर्ने बाध्यता छ । सोचेजस्तो सेवा प्रदान गर्न सकिएको छैन । तर, अब केही समयममा यो समस्या हल हुनेमा म बिश्वस्त छु । वास्तबमा सरकार परिवर्तन नभएको भए अहिले नयाँ ठाउँमा भवन बनिसक्ने थियो । हामी त्यहाँबाट सेवा प्रदान गरिरहेका हुन्थ्यौ । तर, सरकार परिवर्तन भएर केही ढिलो भएको हो । तर, अब चाँडै नै नयाँ भवन निर्माणको कामले गति लिन्छ ।
६, अस्पतालका सेवा सुविधा बृद्धिबारे अबको लक्ष्य के छ ?
हामी दाता खोज्छौं । संघ र प्रदेशमा माग गर्छौं । आफ्नो स्रोतसमेत परिचालन गरेर सेवाग्राहीलाई सुविधा उपलब्ध गराउने बिषयमा सम्झौता गर्दैनौ । हाम्रो लक्ष्य सरकारी स्तरमा पनि यति सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्न सकिदो रहेछ भन्ने स्थापित गर्नु हो । र, सरकारी अस्पतालको बारेमा जनतामा प्रचलित धारणा परिवर्तन गराउनु हाम्रो लक्ष्य हो ।
अहिले अस्पतालमा मेजर अपरेशन बाहेकका सम्पुर्ण उपचार उपलब्ध छ । हामी चाँडै नै अपरेसनसमेत शुरु गर्ने योजनामा छौ । खासगरी अर्जुनधारा र अहिले यहाँ बिरामी आउने पालिकाहरु बुद्धशान्ति, बिर्तामोड र कनकाईमा नागरिकहरुले अन्यत्र उपचार गर्न जानु नपर्ने तहको अस्पताल बनाउन लक्ष्य हाम्रो हो । त्यसका लागि कतिपय उपकरण र ब्यवस्थापनका लागि एक्सपर्टहरुको राय लिइरहेका छौं । बिदेशमा बस्ने केही नेपाली र स्वास्थ्य क्षेत्रमा सहयोगको काम गर्दै आएका केही बिदेशी नागरिकहरुसँग पनि उपकरण जडान र त्यसको सञ्चालनका लागि यहाँका जनशक्तिलाई तालिम प्रदान गर्ने कुरामा सहमति हुने प्रक्रियामा छ । ढिलोमा अर्काे बर्ष यो सबै काम शुरु हुनेमा हामी विश्वस्त छौं ।