जेष्ठ ६, २०८२ सोमबार

अर्जुनधाराको पाँच वर्षे प्रगति सार्वजनिक

बिर्तामोड । अर्जुनधारा नगरपालिकाले पाँच वर्षको विकास निर्माण तथा प्रगति सार्वजनिक गरेको छ । स्थानीय राजनीतिक दल, सञ्चारकर्मीको उपस्थितिमा नगरले पाँच वर्षे प्रगति सार्वजनिक गरेको हो ।

नगर प्रमुख हरि कुमार रानाले स्थानीय तहको निर्वाचनपछि तत्काल कानुन अभावका कारण काम गर्न समस्या भएको बताएका छन् । उनले विस्तारै विस्तारै कानुन निर्माणपछि मात्रै नागरिकको सेवामा लाग्न सकेको स्पष्ट पारे । उनले पहिलो स्थानीय चुनावअघिको अर्जुनधारा र अहिलेको अर्जुनधारामा व्यापक परिवर्तन आएको बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतमा राखेर काम गरेको बताएका छन् ।

सोही कार्यक्रममा नगर प्रमुख राना, प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल र उपप्रमुख कमला आचार्यले नगरको बुलेटिन, राजपत्र समेत सार्वजनिक गरेका थिए । सार्वजिनिकिकरण कार्यक्रममा बोल्दै प्रमुख रानाले नगरमा सडक सञ्जाल व्यवस्थित गरेको दावी गरे ।

पाँच वर्षे प्रगति संक्षेपमा बताउँदै उनले ११६ वटा पुल, ३०० जोर ह्युमपाइप, ३ सय किमि सडक ग्राभेल, नगरकको लगानीमा २५ किमि सडक कालोपत्रे गरिएको जानकारी दिए । नगरको गौरवको आयोजनाको रुपमा रहेको शनिश्चरे बजार व्यवस्थापनको काम धमाधम भइरहेको उनको भनाई छ । यस्तै, सागसब्जी र माछामासुको पसल व्यवस्थापनका लागि अलग्गै संरचना व्यवस्था गरेको बताए ।

प्रशासनिक सुविधाका लागि हरेक वडामा नयाँ कार्यालय भवन, आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको बताइएको छ । केहि ठाउँमा मुद्धामामिलाका कारण भवन निर्माण हुन नपाएको रानाको भनाई थियो । विधालयहरुको भौतिक पूर्वाधार विकास र गुणस्तरीय शिक्षाका लागि नगरले विशेष योजना निर्माण गरेर कार्यान्वयन गरेको बताए ।

पहिलो कार्यकालमा कर्मचारी अभावदेखि कार्यालय व्यवस्थापनमा समेत समाधान खोज्दै खोज्दै काम गरेको जनप्रतिनिधिहरुले अनुभव सुनाए । अहिले सबै व्यवस्थापन गरेर काम अघि बढाइएको बताए । अब आउने जनप्रतिनिधिले प्राविधिक समस्यामा अल्झिनु नपर्ने अवस्था बनाएको उनको दावी थियो ।

यस्तै, उपप्रमुख आचार्यले पाँच वर्ष कठिनाईका बिच विताएको बताइन् । पहिलो कार्यकाल भएको हुँदा धेरै समस्या, गाह्रा अप्ठ्यारा समय आइलागेको उनको भनाई थियो । उनले कुनै पनि गलत नियत नराखी आम नगरबासीको सेवामा प्रतिवद्ध भइ लागेको सुनाईन् । उनले भनिन्, पाँच वर्षमा स्रोत साधन र विवेकले भ्याएसम्मका नगरबासीको काम गरेका छौं ।

कार्यक्रममा पूर्वसांसद् केदारमणि ढकालले नगरको स्थापनापछि गाउँगाउँमा विकास पुगेको बताए । पाँच वर्षको अन्तरालमा सबैतिर विकास पुगेकै कारण जग्गाको मुल्य बृद्धि भएको उनको भनाई थियो । उनले भने, स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि नागरिकको जीवनस्तर उठेको छ । जनताले अपेक्षा गरेका सबै काम पुरा नभए पनि सन्तोषजनक अवस्था रहेको बताएका थिए ।
प्रतिनिधिसभा सदस्य खरेल लगायतले नगरको काम प्रशंसायोग्य रहेको प्रतिक्रिया दिए । उनीहरुले स्थानीय तहको व्यवस्थाले आम नागरिकलाई विकास र सेवा प्राप्त सहज भएको बताएका थिए ।

प्रकाशित मिति : चैत्र २४, २०७८ बिहीबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]