जलेश्वर सामुदायिक सिकाई केन्द्रको साधारणसभा
अर्जुनधारा । अर्जुनधारा नगरपालिका– ८ स्थित जलेश्वर सामुदायिक सिकाई केन्द्रको १० औ बार्षिक साधारण सभा तथा प्लाष्टिक न्यूनिकरणका लागि कपडाको झोला उत्पादन सम्बन्धी ५ दिने प्रशिक्षण कार्यक्रम बिहीवार समापन गरिएको छ ।
समारोहका प्रमुख अतिथि एवम् अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा केन्द्रकी अध्यक्ष पुनम सुवेदीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । आर्थिक बर्ष ०७८-७९ को कार्ययोजना अनुसार सीप मुलक बिकास अन्तर्गत झोला निर्माणलाई निरन्तरता दिने, आइसक्रिम ,फलफुल जाम (जुस) बनाउने तालिम सञ्चालन गर्ने , अनौपचारिक शिक्षा अन्तर्गत नगरभरिका महिला, बालबालिका ,अपाङ्गता भएका व्यक्तिहरुका लागि सचेतना , व्यक्तित्व बिकास कार्यक्रम सञ्चालन गर्ने ,लैङ्गिक हिंसा लागूऔषध ,बालविवाह , सामाजिक सञ्जालको बढ्दो दुरुपयोग तथा दुव्र्यसनबाट बच्न, नफस्नका लागि विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराई जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, प्लाष्टिक न्यूनिकरणका लागि छलफल, अन्तरक्रिया साथै फालिएको प्लास्टिकलाई पुनःप्रयोग गर्ने तालिम सञ्चालन लगायत कार्यक्रम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
केन्द्रले चैत १६ गते देखि कपडाको झोला बनाउने तालिम सञ्चालन गरेको थियो । तालिम समापन कार्यक्रममा उत्पादित कपडाको झोला स्थानीय पवित्रा अधिकारीले १ सय रुपैयाँ मूल्यमा प्रमुख अतिथि रानाबाट खरिद गरेकी थिइन् ।
सो अवसरमा प्रशिक्षार्थी पूजा उराउ, पुष्पा खतिवडा, सुजता चौधरी, कुमारी राई, रञ्जु पुलामी मगर ( गुरुङ ), हेमकला चम्लागाई (गौतम), सीता दाहाल, देवीमाया विक , देवका ओली (आचार्य), सुमिरा चौधरी ,देवकुमारी चौधरी लगायत १९ जनालाई प्रमाणपत्र प्रदान गरिएको संस्थाकी सचिब इन्दिरा दाहालले जानकारी दिइन् ।
सुवेदीको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि राना, अर्जुनधारा नगरपालिका – ८ का वडाध्यक्ष गोपीचन्द्र गौतम , नेपाली कांग्रेस जिल्ला सदस्य सरस्वती सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । समापन समारोहमा केन्द्रकी उपाध्यक्ष देवकला प्रसाईले प्लाष्टिक न्यूनिकरणका लागि कपडाको झोला उत्पादन गर्ने कार्य निरन्तर रहने बताइन् ।
नगरको २ लाख आर्थिक सहयोग र ३६ हजार जनश्रमदानबाट कार्यक्रम आयोजना गरिएको थियो ।