भद्रपुरलाई शववाहन सहयोग
गंगा बराल
भद्रपुर । झापाको भद्रपुर नगरपालिकालाई काठमाडौं महानगरपालिकाले एसीसहितको शव वाहन सहयोग गरेको छ ।
आज काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकालाई शववाहन हस्तान्तरण गरिएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई शववाहनको चाबी हस्तान्तरण गर्नुका साथै सम्झौतापत्र आदान–प्रदान गरेका थिए ।

मानवीय सेवाका लागि सेवा प्रदायक संस्था तथा पालिकाहरुलाई सहयोग गर्ने महानगरपालिकाको वार्षिक कार्ययोजना अनुसार झापा जिल्लाकै पहिलो र पुरानो नगरपालिकालाई शववाहन सहयोग गरिएको बताउँदै महानगरपालिकाका प्रमुख शाक्यले यो सहयोग मानवीय सेवामा उपयोगी हुने विश्वास व्यक्त गरे । भद्रपुर नगरप्रमुख श्रेष्ठले अति आवश्यक सवारीसाधन सहयोग गरेकोमा महानगरपालिका र त्यसका लागि समन्वय गर्ने भद्रपुर काठमाडौं सरोकार समाजका सचिव झलेन्द्र भट्टराई, झापा मिलन केन्द्र भक्तपुरका सचिव झापा चन्द्रगढी निवासी राममणि न्यौपानेलगायतलाई धन्यवाद दिए ।
महानगरका कानून विभाग निर्देशक वसन्त आचार्यले सञ्चालन गरेको समारोहमा महानगरका शहरी योजना विभागका उपाध्यक्ष सरोज वस्नेतले महानगरको कार्ययोजना र शववाहनको उपयोग बारे प्रकाश पारेका थिए । प्रसिद्ध भारतीय मोटर कम्पनी टाटाको ंउक्त शववाहनको नम्बर बागमती ०१–०२ झ ५९५५ रहेको छ । सो सवारीसाधनको बजारमूल्य करिब ३१ लाख रुपैयाँ रहेका छ ।