विराटको समस्या सुल्झाउ
सम्पादकीय
झापाको बिर्तामोड १० मा रहेको विराट आधारभुत विधालयमा अहिले प्रधानाध्यापक, शिक्षक र कर्मचारीबिच आरोपप्रत्यारोप चलिरहेको छ । विगत केहि समयदेखि विवादमै चलिरहेको विधालयमा अहिले ताला लगाउनेसम्मका काम भएका छन् । विधालयमा तालावन्दी गर्नु सरासर गलत छ । चाहे शिक्षकको गल्ती कमजोरी होस् या प्रधानाध्यापक वा विव्यसको होस् । एउटा शैक्षिक संस्थामा तालावन्दी गरिएको विषयले त्यहाँको पठनपाठनमा नकारात्मक असर गर्छ । यो विधालयभित्र रहने सबैले जानेबुझेको कुरा हो ।
शैक्षिक क्षेत्र शान्ति क्षेत्र हो । त्यहाँभित्र कुनै पनि प्रकारको अशान्ति क्षम्य हुदैन । प्रधानाध्यापकका तमाम कमजोरी बाहिर ल्याएर तालावन्दी गरिएको सार्वजनिक भयो । यथार्थमा त्यहि हो भने पनि सरोकारवाला निकाय छ । विधालयलाई तहसनहस बनाउने छुट प्रधानाध्यापक र शिक्षक कर्मचारीलाई छैन । जब, विधालयभित्र राजनीति प्रवेश गर्छ तब यस प्रकारका समस्याहरु उब्जन्छन् । शिक्षा क्षेत्रमा कार्यरत हुनेहरु बौद्धिक हुन्छन् । बौद्धिक वर्गले विधालयभित्र कुनै पनि प्रकारका नकारात्मक गतिविधि गर्न मिल्दैन ।
विधालय सञ्चालनमा प्रअको मुख्य भूमिका हुन्छ । विधालयलाई कस्तो बनाउने भन्ने मुख्य जिम्मेवारी भएको व्यक्ति प्रअ भएकाले त्यसको दोषगुण लिनैपर्छ । त्यसको मतलव शिक्षक कर्मचारीको लापरबाही हुनुपर्छ भन्ने होइन । शिक्षक, कर्मचारीले प्रअलाई साथ नदिने हो भने विधालय लथालिङ्ग हुन्छ । नगरभित्रै रहेको मोहनमाया माविलाई विराटका शिक्षक कर्मचारीले एक पटक अवलोकन गरेमा चेत आफै खुल्छ । विधालय बनाउने जिम्मा कसको काँधमा छ, त्यहाँ स्पष्ट हुन्छ । यसैले तवल नपाएको विषय एउटा प्राविधिक विषय हो । त्यो विषयमा स्थानीय सरकार छ । शिक्षा शाखा छ । तलव नदिए, विधालय तहसनहस बनाए, आर्थिक अनियमितता गरे कारवाही गर्ने जिम्मा माथिल्लो तहको हो । शिक्षक कर्मचारीको जिम्मेवारी विधार्थीलाई राम्रोसँग पठनपाठन गर्ने हो । तालावन्दी गर्ने होइन । आफुआफु बिच आरोपप्रत्यारोप गरेर विधालयलाई बद्नाम गराउने भन्दा पनि सबै सरोकार क्षेत्र बसेर छलफलबाट समाधान खोज्नु उचित विकल्प हुनेछ ।